शेर्पाको विरुद्धमा एकजुट हुँदै मधेस र बाग्मती प्रदेश



काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)को साधारण सभाका लागि जिल्ला संघको अधिवेशन जारी छ । बिहीबार भएको साधारण सभाबाट बारामा राजकुमार लामा निर्विरोध भएका छन् । आइतबार भएको साधारण सभामा निवर्तमान जिल्ला अध्यक्ष मोहम्मद समिउल्लाहले चाहेका कृष्ण मोहन चौधरीको नाममा सहमति हुन नसके पछि उनकै निर्देशनमा त्यस दिन निर्वाचन स्थगित भएको थियो ।

समिउल्लाहले नचाहेका राज कुमार लामा नै बिहीबार निर्विरोध भए । यसैगरी ग्रुप च्याटमा व्यक्त गरेको कुराको आधारमा कुनै समय कारबाहीमा परेको पुरुषोत्तम थापा ललितपुर जिल्ला फुटबल संघको अध्यक्षमा अर्को एक कार्यकालमा लागि निर्वाचित भएका छन् । थापालाई गरिएको कारबाही अवैध भन्दै सर्वत्र आलोचना भए पछि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले कारबाही फिर्ताको घोषणा थिए ।

यसैगरी संखृुवासभा जिल्ला फुटबल संघको अध्यक्षमा भरत घिमिरे निर्वाचित भएका छन् । यसैगरी ताप्लेजुङमा अशोक चेम्जोङ निर्वाचित भएका छन् । यसैगरी नवीन राई सुनसरी जिल्ला फुटबल संघका अध्यक्षमा निर्विरोध भएका छन् । प्रदेश नं १ मा ११ जिल्ला कमिटीबाट १० जनाको अर्को निर्वाचन हुने छ । यस जिल्लामा १० जना नै केन्द्रीय प्रतिनिधि वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ पक्षधर रहने अनुमान गरिएको छ ।

यस अघि भएको एन्फाका प्राय अधिवेशनमा १ नं प्रदेशका मतदाता एकजुट हुने गरेका थिए । हालसम्म सकिएका अधिवेशनमा बी र सी डिभिजन क्लबका कुल २० मत मध्य अध्यक्ष शेर्पा पक्षधर ६ तथा वरिष्ठ उपाध्यक्ष नेम्बाङ पक्षधर १३ मत छ । एक जना तटस्थ छन् ।

यसैगरी मधेस प्रदेशका सिराहा, महोत्तरी, बारा, पर्सा र रौतहटको जिल्ला अधिवेशन सकिएको छ । यी सबै जिल्लामा नेम्बाङ पक्षधर उम्मेदवार जिल्ला अध्यक्ष भएका छन् । धनुषा, सर्लाही र सप्तरीको अधिवेशन हुन बाँकी छ । यसैगरी प्रशिक्षक संघमा पनि वरिष्ठ उपाध्यक्ष पक्षधर राजेन्द्र तामाङ निर्वाचित भई सकेका छन् । खेलाडी संघ, महिला संघ तथा रेफ्री संघको निर्वाचन हुन बाँकी छ ।

बाग्मती प्रदेशका ललितपुर, काभ्रे, दोलखा र नुवाकोटमा नेम्बाङ पक्षधर उम्मेदवारले जित हात पारि सकेका छन् । ए डिभिजन क्लबका बारे प्रस्ट हुन बाँकी छ । यसैगरी, राष्ट्रिय लिग खेल्ने मोफसलमा ४ क्लबको प्रतिनिधिको पनि मत प्रस्ट हुन बाँकी छ । चार वर्ष अगाडी कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्बाङ एउटै प्यानलबाट उम्मेदवार भए पनि अध्यक्ष शेर्पाले कुने सुधारको कार्यक्रम ल्याउन नसकेको भन्दै वरिष्ठ उपाध्यक्ष नेम्बाङले विद्रोह गरेका थिए ।

साथै वरिष्ठ उपाध्यक्ष नेम्बाङले शेर्पा माथि आर्थिक अपारदर्शी आरोप पनि लागेको छ । शेर्पा कार्यकालमा तीन प्रशिक्षक, हरि खड्का, बाल गोपाल महर्जन उपाध्यक्ष उपेन्द्र मान सिंहलाई मात्र प्राथमिकता दिएको आरोप लागे पछि यस पटक प्राय फुटबल प्रशिक्षक शेर्पा पक्षको विरुद्धमा रहेका हुन् ।

वर्षको अन्त्यमा कपोरेट क्षेत्रबाट लाभ लिँदै फुटबलका मूलधारका क्लब माथि अन्याय गरेको आरोप पनि लागेको छ । ए डिभिजन क्लबहरूले एनएसएलको नाममा आफूमाथि गलत भएको आरोप लागी रहेको भन्दै आपत्ति जनाइरहेकै समयमा काठमाडौँ रेजर्समा आबद्ध विज्ञान शर्मालाई लिग कमिटीको अध्यक्षमा निरन्तरता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्