म प्रति जनताले गरेको बिश्वासलाई कहिल्यै टुट्न दिने छैन : मेयर प्रसाई



सर्लाही : हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईले नगरवासीको प्रसंशा गरेका छन्। अमेरिकी दूतावास र हरिवन नगरपालिकाको सहकार्यमा आयोजित ‘युवा माझ जनप्रतिनिधि’ कार्यक्रममा उनले नगरवासीलाई सम्बोधन गर्दै प्रसंशा गरेका हुन्।  

‘नगरवासीहरुले यसले हाम्रो लागि केहि गर्छ। भोलिको दिनमा नयाँ पुस्ताका लागि पनि केही गर्न सक्छ भनेर मलाई नगरपालिकाको प्रमुखमा विजय गराए।’ उनले भने, ‘जनताले यति धेरै मत दिएर विश्वासको साथ आफुलाई यस ठाउँमा पुर्याएको बताउँदै जनताले आफूलाई दिएको त्यस अमूल्य मतलाई ऋणको रुपमा लिएको छु। त्यसको व्याजसहित जनतालाई चुक्ता गर्नुपर्ने जिम्मेवारी र उत्तरदायित्व मेरो हो।’

साथै उनले जनताले आफूमाथि गरेको विश्वास र आशालाई कहिल्यै निराशमा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरे। आफू योभन्दा अगाडि पनि जनताकै सेवाको लागि राजनीतिमा लागेको र अहिले थप जिम्मेवारीका साथ जनताको सेवा गर्ने उत्तरदायित्वा प्राप्त भएको हुनाले जनता खुसी भए मात्र आफू खुसी हुने उनले बताए।

आफ्नो लक्ष्य जनतालाई अधिकतम खुसी बनाउनु रहेको बताउँदै उनले आफ्नो काम र कर्मले जनता दुखी हुन्छ भने आफूलाई त्यो भन्दा ठूलो आत्माग्लानी जिवनमा कहिल्यै नहुने बताए। 

समय अनुरुप जनताहरुको इच्छा, आकांक्षा र आवश्यकता झन अधिकतम रुपमा बढ्दै गएको र त्यसको परिपूर्ति गर्ने श्रोत साधन आफूहरुसँग सिमित रहेता पनि त्यसबाट नै अधिकतम सेवा र सुविधा जनतालाई प्रदान गर्ने गरि काममा लागि परेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्