गठबन्धन र एमालेबाटै बागी



काठमाडौं । बागी उम्मेदवारले आधिकारिक उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा चुनौती दिएका छन् । पार्टी र गठबन्धनकै असन्तुष्ट पक्षबाट आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । निर्वाचनमा भने प्रतिस्पर्धी दलका उम्मेदवारलाई पराजित गर्न सहयोग पुर्‍याउनु पार्टी वा गठबन्धनको दायित्व हुन्छ।

त्यसविपरीत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी ठाउँठाउँमा परेको छ। सबैभन्दा धेरै बागी उम्मेदवार नेपाली कांग्रेसबाट परेको छ । कांग्रेस ५ दलीय गठबन्धनको नेतृत्वदायी दल पनि हो। तर, पार्टीले प्रमुख पद नपाएको २ महानगरपालिकामा कांग्रेसका नेताहरूबाट बागी उम्मेदवारी परेको छ। चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले भरतपुरको प्रमुख पद नेकपा (माओवादी केन्द्र)लाई दिने निर्णय गरेपछि माओवादीले निवर्तमान महानगर प्रमुख रेणु दाहाललाई उम्मेदवार बनाएको छ । दाहालले मनोनयनपत्र सोमबार दर्ता पनि गरिन्।

तर, दाहालविरुद्ध पौडेल खडा भए । गण्डकी प्रदेशको राजधानी रहेको पोखरा महानगरपालिका प्रमुखमा गठबन्धनका आधिकारिक उम्मेदवार धनराज आचार्यविरुद्ध कांग्रेसका २ जना नेताले बागी उम्मेदवारी दिएका छन् । आचार्य नेकपा (एकीकृत समाजवादी)का नेता हुन्। गठबन्धनको आधिकारिक उम्मेदवार बनेका उनीविरुद्ध कांग्रेस नेताहरू नन्दप्रसाद तिवारी, ऋषि सापकोटा र विमल कार्की बागी उम्मेदवार बनेका हुन्। तीनै जना नेताले अन्य पार्टीको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने स्थिति आएका कारण उम्मेदवारी दिनुपरेको तर्क गरेका छन्। कांग्रेसले महानगर प्रमुख पाएको काठमाडौं, ललितपुर र विराटनगरमा भने गठबन्धनका अन्य दलका नेताहरूले बागी उम्मेदवारी दिएनन्। तर, कांग्रेस नेताहरूले भने रूखभन्दा भिन्न निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने स्थिति आएको भन्दै बागी उम्मेदवारी दिएका हुन्।

बागी उम्मेदवारी कांग्रेसबाट बढी परेपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बागी उम्मेदवारी दिनेहरूले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरेका छन् । ‘म अहिले यति मात्र भन्छु, पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ । त्यहाँ (भरतपुरमा) कांग्रेस र माओवादीको संयुक्त जुलुस निस्किरहेको छ, त्यो महत्वपूर्ण हो’, पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता महराले भने । यी २ महानगरपालिकामा मात्र होइन, अन्य स्थानीय तहमा पनि आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार देखिएका छन्।

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिकामा कांग्रेसकै उपाध्यक्ष पदका उम्मेदवारविरुद्ध कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ। बागी उम्मेदवारी दिने दीपबहादुर सिंह हुन् । गठबन्धनबाट उपाध्यक्ष पदकी उम्मेदवार कांग्रेसकै सुशीला रोकाया हुन्। उक्त गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्ष पदमा माओवादी केन्द्रबाट विजय भण्डारी उम्मेदवार छन् । बाग्मती प्रदेशको जिल्ला रामेछापको लिखु गाउँपालिका अध्यक्ष पदमा पनि कांग्रेस नेता राजन सुवेदीले बागी उम्मेदवारी दिएका छन् । उनी अध्यक्ष पदका आकाङ्क्षी थिए । तर, पार्टीले अशोक कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि उनी बागी उम्मेदवार बनेका हुन् । उनी निर्माण व्यवसायी हुन् ।

प्रदेश १ को पहाडी जिल्ला ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमाले नेता सीताराम गुरुङले प्रमुख पदमा बागी उम्मेदवारी दिएका छन्। उनी पार्टीबाट प्रमुख पदका आकाङ्क्षी थिए । तर, इच्छाकुमारी गुरुङ प्रमुख पदको उम्मेदवार भएपछि उनी बागी उम्मेदवार भएका हुन् । यस्तै, प्रदेश १ को झापामा रहेको मेचीनगर नगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार गोपालचन्द्र बुढाथोकीविरुद्ध नगरपालिकाका इन्चार्ज देवकुमार राई बागी उम्मेदवार बनेका छन्।

रुकुम–पश्चिमको मुसीकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका वीरबल केसीले सोमबार बागी उम्मेदवारी दिए । पार्टीले महेन्द्र केसीलाई प्रमुख पदका उम्मेदवार बनाएपछि असन्तुष्ट बन्दै केसीले बागी उम्मेदवारी दिएका हुन्। बाग्मती प्रदेशकै जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद सापकोटा उम्मेदवार बनेपछि नगरपालिकाको निवर्तमान प्रमुख अमानसिंह तामाङले बागी उम्मेदवारी दिए। माओवादी केन्द्रका उनी यसअघि उक्त नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्