जिते नेता, हारे पत्रकार !



काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनबाट स्थानीय तहको नेतृत्वमा पुग्न झन्डै २०० जना पत्रकारहरू चुनावी मैदानमा उत्रिएका नेपाल पत्रकार महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघमा आबद्ध भएर सक्रिय पत्रकारिता गरिरहेका उनीहरूले पालिका प्रमुखदेखि सदस्यसम्ममा विभिन्न दलका तर्फबाट र स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन् ।

सरकारी जागिर र लाभको पदमा भएका व्यक्तिले चुनावमा प्रतिस्पर्धा गर्न नपाउने भए पनि निजी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई चुनाव लड्न कानुनले नछेकेकै कारण यस पटक स्थानीय तहको नेतृत्वमा पुग्न पत्रकारहरूको आकर्षण बढेको छ। नेपाल पत्रकार महासंघको विधानको परिच्छेद– ८ ‘अनुशासन र आचारसंहिता’अन्तर्गत बुँदा ३२. ‘अनुशासन र कारबाही’ (२)मा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भ्रातृ सङ्गठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउनेछैन’ भन्ने व्यवस्था छ।

तर, निर्वाचनमा उम्मेदवारी दर्ता गराएका अधिकांश पत्रकार महासंघका केन्द्रीय, प्रदेश र शाखा सदस्यका रूपमा रहेका भए पनि उनीहरूले ती पदबाट त राजीनामा दिएका छैनन् नै, आफू आबद्ध सञ्चार माध्यमबाट समेत राजीनामा दिएका छैनन्।पत्रकारले कुनै दलको पक्षपोषण हुनेगरी लेख्न, बोल्न नहुने सामाजिक र परम्परागत मान्यता छ भने दलमा आबद्ध भए महासंघको सदस्यबाट राजीनामा दिनुपर्ने प्रावधान छ। तर, दल निकटका पत्रकारका विभिन्न शुभेच्छुक र भ्रातृसंस्थाको निर्वाचनमा समेत उनीहरू महासंघ सदस्यकै हैसिततमा चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्।

स्थानीय तह निर्वाचनमा एमालेबाट सबैभन्दा बढी पत्रकारले स्थानीय तहमा टिकट पाएका छन् । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष मोहन चापागाईंले रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा मनोनयन दर्ता गरेका छन् । पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्षमा टिकट पाएका छन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वसभापति धीरेन चेम्जोङ इलाम नगरपालिका प्रमुखमा उठेका छन् ।

इलाम नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट टिकट पाएपछि चेम्जोङ चुनावी दौडमा होमिएका हुन् । प्रेस चौतारी म्याग्दीका संस्थापक सदस्य सुरत केसीले पनि बेनी नगरपालिकाको प्रमुखमा टिकट पाए भने चौतारीको काभ्रे जिल्लाका पूर्वअध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुखमा उठेका छन् । प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेका अनुसार बाजुराका संस्थापक सदस्य अमर खड्काले बढीमालिका नगरपालिका प्रमुखमा र बाजुराकै वर्तमान अध्यक्ष नन्दा थापाले उपप्रमुखमा टिकट पाएका छन् । एमालेका तर्फबाट टिकट पाउनेमा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य शान्ता आङबुहाङ पनि छन् ।

उनले ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्षको टिकट पाएकी छन् । चौतारीकै कैलाली जिल्ला उपाध्यक्ष गीता चौधरी जानकी गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् भने मोरङका पूर्वसचिव भक्त राई सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धामा छन् । दोलखा जिल्लाकी पूर्वउपाध्यक्ष गायत्री आचार्य मेलुङ गाउँपालिका उपाध्यक्ष र बाँके जिल्लाका पूर्वउपाध्यक्ष सकिल खान डुडुवा गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएका पाण्डेले जानकारी दिए । चौतारीकै सदस्य रहेका विष्णुप्रसाद जम्कट्टेल ‘तारुके’ले भने नुवाकोटको तारकेश्वर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगत्कृष्ण प्रजापति पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् ।

कांग्रेस निकट भए पनि आधिकारिक टिकट नपाएपछि उनले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेस निकट प्रेस युनियनका भक्तपुरका नेता राजु बस्नेतले पनि गोदावरी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली राईले ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनले जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन् । गोपाल पौडेलले पनि झापाको गौरादह नगरपालिकाको प्रमुखमा टिकट पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उनी निर्वाचन लड्दै छन् । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको सङ्गठन समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष तीर्थ सिग्देलले झापाको विर्तामोड नगरपालिकाको उपप्रमुखमा टिकट पाएका छन् भने सोही सङ्गठनका सदस्य राजन बञ्जारालाई पार्टीले ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्षमा उठाएको छ। पत्रकार गिरिश गिरीलाई राप्रपाले वीरगंज महानगरपालिकाको प्रमुखका रूपमा अघि सार्दै मनोनयन गराएको छ। मेघा टेलिभिजनमा कार्यरत रोशन दानीले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन्।

अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगंगा– १० को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत सुनिता रावलले नेपाली कांग्रेसका तर्फबाट डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन्। नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव भोला पासवानले जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कंचनरूप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंहले उम्मेदवारी दिएका छन् भने नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज– ८ को वडा अध्यक्षमा सतिश दत्तले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवले पनि नेकपा (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवारी दिएका छन्। नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमलेश मण्डलले महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन्। महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले निर्वाचनमा उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्र उम्मेदवार बन्न सबै सदस्यहरूलाई निर्वाचन आचारसंहिता, २०७८ को प्रतिकूल काम नगर्नसमेत नेपाल पत्रकार महासंघले आह्वान गरिसकेको छ।

महासंघले निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्वीटर, युट्युुब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जनाउँदै आएको छ। प्रेस काउन्सिल नेपालले पनि निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार नै आचारसंहिता पालना गर्न सञ्चारकर्मी र पत्रकारहरूलाई भनिसकेको छ।

उम्मेदवार बनेका सबै पत्रकार चुनावी अभियानमा जुटिसकेका छन्। तर, नेपाल पत्रकार महासंघका सदस्य शान्ता आङ्बोहाङ र दीपेन्द्र रुम्दाली राईबाहेक कसैले पनि राजीनामा नदिएको महासंघका महासचिव रोशन पुरी बताउँछन् ।

महासचिव पुरी भन्छन्, ‘देशभर २०० भन्दा बढी पत्रकार महासंघमा आबद्धहरूले उम्मेदवारी दिएका सूचना आएको छ तर २ जनाबाहेक कसैले पनि राजीनामा दिएका छैनन् ।’ महासंघको विधानमा साधारण सदस्यका लागि राजनीतिक संलग्नतामा बन्देज नगरिएको भए पनि महासंघको केन्द्रीय समितिको निर्णयबाट महासंघमा आबद्ध सबैका लागि राजनीतिक संलग्नतामा बन्देज गरिएको महासचिव पुरीले बताए ।

प्रतिक्रिया दिनुहोस्