एन्फा कार्यसमिति बैठक तत्काल बोलाउन माग



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् । राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षक विच उत्पन्न विवाद अत्यन्त संवेदनशिल विषय भएको उल्लेख गर्दै तीन उपाध्यक्षले एन्फाको कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्धय कृष्णबहादुर थापा, वीरबहादुर खड्का सहित केन्द्रिय सदस्य दावा लामाले अत्यन्त संवेदनशिल विषयमा तत्काल बैठक बसेर निर्णय गर्नुपर्ने भएकाले यथासिघ्र बैठक बोलाउन अनुरोध गरेका हुन् ।

बन्द प्रशिक्षणको क्रममा खेलाडीले प्राप्त गर्ने सुविधाको विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र राष्ट्रिय टिमका सिनियर १० खेलाडीबीच विवाद चुलिएको छ । मुख्य प्रशिक्षकले सिनियर खेलाडी रोहित चन्दलाई बन्द प्रशिक्षणबाट निकालेका छन् भने अन्य ९ सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेर हिडेका छन् ।

बिहिबारमात्र खेलाडीले घटनाको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेका थिए । मुख्य प्रशिक्षकले जुनियर खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण जारी राखेका छन् ।

राष्ट्रिय फुटबल टिम एसिया कप छनोटको तयारीमा रहेको छ । असन्तुष्ट खेलाडीलाई बाहिर राख्दै अलुमताईरीले प्रशिक्षणलाई अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्