बाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै सुशासन समिति



जनकपुरधाम : प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको एक टोलीले शनिबार धनुषा र महोत्तरीका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरिरहेको छ।

काठमाडौंबाट आएको टोलीले पहिलो दिन आज जनकपुरधाम उप–महानगरपालिका–१ को मुसहरी र ७ का बाढी पीडितलाई भेटेको छ। समितिका एक सदस्य राजेन्द्र महतोले वडा नम्बर ७ स्थित मुसहरीका बाढी पीडितहरूसँग भेट गरी आफूहरू धनुषा र महोत्तरीका बाढी पीडितको अवस्था बुझ्न आएको बताए।

धनुषा र महोत्तरीका विभिन्न स्थानमा गएर त्यहाँको वस्तुस्थिति बुझ्ने र संसदमा जानकारी दिन समिति अनुगमनमा आएको प्रतिनिधिसभा सदस्य समेत रहेका राजेन्द्र महतोले बताए। यी जिल्लामा साढे तीन हजार व्यक्ति घरवार विहीन भएको र एक लाख व्यक्ति प्रभावित भएको जिल्ला प्रशासनको तथ्यांक छ।

समितिले बाढी पीडितलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। समितिको अर्का सदस्य महेश्वर जंग गहतराजले राहत कसरी वितरण भइरहेको छ भनेर बुझ्न समिति अनुगमन र निरीक्षण गर्न आएको बताए।

राज्य व्यवस्था सुशासन समितिको टोलीमा डाक्टर विजय सुब्बा र रामस्नेह प्रसाद यादब पनि रहेका छन्। टोलीले आजै जनकपुरको वडा नम्बर १ र ७ का प्रभावितलाई राज्यका तर्फबाट राहत सामग्री वितरण गरेको छ।

निरीक्षणका लागि आजै जनकपुर विमानस्थल आइपुगेका समितिका पदाधिकारीलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बाढीले पुर्याएको क्षतिबारे ब्रिफिङ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्