एन्फाले खेलाडीको समस्या समाधान नगरे राखेपले कदम चाल्छ : सदस्य सचिव घिसिङ



काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले नेपाली फुटबलमा देखिएको विवाद एन्फाले समाधान नगरे राखेपले मिलाउने बताएका छन् ।

उनले आज खेलाडीहरुसँग कुराकानी गर्दै भने, ‘यो विवाद यति लम्बिन हुँदैनथ्यो। मैले एन्फा अध्यक्षलाई के भएको हो चाँडो समाधान गर्नुपर्छ भनेर भनिसकेको छु। आज पनि भन्छु। त्यो भएन भनेर लिखित पनि दिन्छ’, सदस्य सचिव घिसिङले भने। उनले एन्फा भित्रबाट समस्याको समाधान नभए राखेपबाट अर्को कदम चाल्नुपर्ने विषय आउने पनि बताए ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण राष्ट्रिय टोलीको क्याम्प छाडेका १० खेलाडीको समस्या सुनेपछि सदस्य सचिव घिसिङले यस्तो बताएका हुन्। त्यसअघि खेलाडीले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)लाई भेटेर अहिले देखिएको समस्याबारे जानकारी गराएका थिए।

त्यसपछि एनएनआईपीए अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पिक एसोसिएसनका अध्यक्ष दिपक विष्ट, एन्फा अन्तर्गतका खेलाडी संघका अध्यक्ष विक्रम लामा र क्याम्प बाहिर रहेका १० खेलाडीले सदस्य सचिवलाई भेट गर्दै अहिलेसम्म भएका घटनाक्रम सुनाएका थिए।

खेलाडीको कुरा सुनेपछि सदस्य सिचव घिसिङले यस विवादबारे आफूले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग त्यसबारे चाँडै निकास दिन मौखिक रुपमा भनिसकेको बताए। एन्फा अध्यक्षले यसबारे छलफल भइहरेको भनेर जानकारी गराए पनि ठोस निर्णय गरेको छैन।

मंगलबार खेलाडीहरुको कुरा सुनेपछि सदस्य सचिव घिसिङले फेरि एन्फा अध्यक्ष शेर्पालाई यो विवाद एन्फा भित्रैबाट समाधान गर्न र युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गरेका छन्। गत मंगलबार खेलाडीले बन्द प्रशिक्षण छाडेको घटनाबाट सुरु भएको विवाद एक साता लम्बिँदा पनि अहिलेसम्म निकास भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्