जीडीपीमा कृषिको योगदान निरन्तर घट्दो



काठमाडौं । पछिल्लो समय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान घट्दै गएको छ। जीडीपीमा कृषि क्षेत्रको योगदान अर्थतन्त्रको भाषामा सकारात्मक भनिए पनि उत्पादन वृद्धिमा खासै सकारात्मक नदेखिएकाले जीडीपीमा कृषिको योगदान मात्र घट्नु मुलुकको अर्थतन्त्रका लागि शुभ संकेत नभएको अर्थविद् बताउँछन् ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार २०७८÷७९ मा कृषि योगदान २३ दशमलब ९५ प्रतिशत हुने प्रक्षेपण गरेको । तर, यता वृद्धिदर २ दशमलब २४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । गतवर्ष २०७७/७८ मा कृषि, वन र मत्स्यको जीडीपीमा योगदान २४ दशमलब ९० र वृद्धिदर २ दशमलब ८५ प्रतिशत थियो । यस्तै २०७७/७८ मा २५ दशमलब योगदान र वृद्धिदर २ दशमलब ४३ थियो । विभागको तथ्याङ्कअनुसार प्रत्येक वर्षका २ प्रतिशतले जीडीपीमा कृषि क्षेत्रको योगदान निरन्तर घटिरहेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रलायको तथ्याङ्कअनुसार कृषि क्षेत्रको उत्पादकत्व वृद्धि ० दशमलब ६२ मात्र भएको छ। उत्पादकत्वमा वार्षिक वृद्धिदर नबढ्दा मुलुकको अर्थतन्त्रका लागि राम्रो सङ्केत भएको अर्थविद् बताउँछन् । कुल अर्थतन्त्रमा आकारमा कृषिको योगदान निरन्तर घट्नु र वृद्धिदर नबढ्नु मुलुकमा गरिबी बढ्दै गएको सङ्केत देखाएको अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । अर्थविद् अधिकारी भन्छन्, ‘कतिपयले जीडीपीमा कृषिको योगदान घट्नु राम्रो भन्छन् तर, त्यो होइन । जीडीपीमा कृषिको योगदान घट्दा यता कृषि उद्योग बढेको हुनुपर्छ साथै खाद्यन्न क्षेत्रमा आयात पनि घटेको हुनुपर्छ। तथ्याङ्क हेर्दा त्यो दुवै भएको छैन । यता खाद्य वस्तुको आयात पनि बढ्दै गएको छ।

उद्योग क्षेत्र पनि बढेको छैन। कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्नुको मुख्य कारण भनेको रेमिट्यान्स हो’, उनले भने, ‘रेमिट्यान्सले कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान क्रमशः घट्नु मुलुका लागि राम्रो सङ्केत होइन ।’ कृषिको योगदान क्रमशः घट्नु यता कृषिजन्य उद्योगको विकास नहुनु मुलुक गरिबीतर्फ धकेलिँदै गएको अर्थविद् डा. अधिकारीको भनाइ छ। कृषिको वृद्धिदर क्रमिक घट्नुले अत्यावश्यक खाद्य वस्तुको आयात बढ्ने देखाएको डा. अधिकारी बताउँछन्। विकसित मुलुकले जीडीपीका कृषिको योगदान बढाउन कृषिलाई आधुनिकीकरणमा रुपान्तरण गरी कृषि क्रान्ति गरेका छन् ।

कृषि विज्ञ भैरवराज कैनी भन्छन्, ‘कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्नु भनेको उद्योग र सेवा क्षेत्रको योगदान बढेको सङ्केत हो।’ तर, कृषिजन्य वस्तुको आयातको तथ्याङ्कलाई हेर्दा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान निरन्तर घट्नुले राम्रो सङ्केत नगर्ने कृषि विज्ञ कैनीको भनाइ छ। जीडीपीमा कृषिको उत्पादन गर्दा उत्पादन बढेको भए राम्रो सङ्केत हुन्थ्यो तर त्यो अवस्था नरहेको कृषि विज्ञ कैनी बताउँछन्। पछिल्लो समय कृषियोग्य जमिन बाँझो रहेको र पर्याप्त सिँचाइ नहुनु, गुणस्तर विउको अभाव, किसानलाई समयमा मलको आपूर्ति नहुँदा कृषिको उत्पादन नबढेको विज्ञ कैनीको भनाइ छ।

उनले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले रेमिट्यान्सभन्दा मुलुकका कृषिजन्य वस्तुको उत्पादनमा जोड दिनुपर्ने बताए। रेमिट्यान्सले देशका लागि दिगो विकास नभएको उनी बताउँछन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मी कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्नु देशको अर्थतन्त्रको भाषामा राम्रो सङ्केत भएको बताउँछन्। उनले पछिल्लो समय कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि भइरहेको दाबी गरे। मागअनुसारको उत्पादन गर्न नसकेको अधिकृत रेग्मी रेग्मी स्वीकार छन् । तर कृषिमा उत्पादन वृद्धि गर्न एक्लो कृषि मन्त्रालयको प्रयासले मात्र नहुने उनको भनाइ छ।

त्यसका लागि सबै सोरोकारवाला सम्बन्धित निकायले पनि लाग्नुपर्ने उनको भनाइ। अपेक्षाअनुसार कृषिजन्य वस्तुमा उत्पादन बढाउन नसक्नु कृषि योग्य जमिन मासिँदै जानु र सिँचाइ सुविधाको विकास नहुनु मुख्य कारण भएको उनको भनाइ । मागअनुसार कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न पर्याप्त सिँचाइको विकास हुनुपर्ने अधिकृत रेग्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्