विराटनगर महानगर : तेस्रो जितको दौडमा कांग्रेस–एमाले



काठमाडौं । ४ जना पूर्वप्रधानमन्त्रीहरू मात्रिकाप्रसाद, विश्वेश्वरप्रसाद, गिरिजाप्रसाद र सुशील कोइरालाको गृहनगर हो, विराटनगर । विराटनगर राजनीतिक थलो भने सुशीलबाहेकका तीनै जनाको भयो। पूर्वप्रधानमन्त्रीमध्येकै मनमोहन अधिकारीले पनि राजनीतिक थलो बनाए, विराटनगरलाई नै।

पूर्वप्रधानमन्त्रीद्वय नगेन्द्रप्रसाद रिजाल र सूर्यबहादुर थापाले पनि विराटनगरलाई आफ्नो गृहनगर बनाए। अर्को पाटोबाट हेर्दा विराटनगर नेपाली कांग्रेस नेतृत्वमा भएको प्रजातान्त्रिक आन्दोलनको केन्द्र पनि हो । यही महत्वपूर्ण थलो विराटनगरमा यतिबेला स्थानीय निर्वाचनको रौनक छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेशको एक मात्र महानगरपालिका पनि यही विराटनगर हो। र, प्रदेश राजधानी पनि यहीँ छ।

राजनीतिक रूपमा महत्वपूर्ण यही महानगरपालिकाको पाँचौँ प्रमुख हुन करिब डेढ दर्जन चुनावी मैदानमा छन् । तर, प्रमुख प्रतिस्पर्धी भने ३ जना देखिएका छन् । गठबन्धन दलहरूबाट कांग्रेसका नागेश कोइराला प्रमुख पदका प्रतिस्पर्धी हुन् । नेकपा एमालेबाट सागर थापा र स्वतन्त्रबाट बलिया उम्मेदवार उमेश यादव छन्। कोइरालाले निर्वाचन जिते विराटनगरको नेतृत्व तेस्रो पटक कांग्रेसले गर्नेछ। थापाले जिते भने पनि एमालेले तेस्रो पटक नै विराटनगरको नेतृत्व गर्नेछ। तर, यादवले जिते पहिलो पटक स्वतन्त्र उम्मेदवारले जितेको हुनेछ।

विराटनगरको निर्वाचन इतिहासलाई हेर्दा २०४३ सालमा जनपक्षीय उम्मेदवार बनेर ध्रुवनारायण श्रेष्ठ पहिलो प्रमुख बने। बामपन्थी नेता उनी एमालेमा आबद्ध भए। पछि श्रेष्ठ राप्रपामा प्रवेश गरे र अहिले उनी ‘सिन आउट’ छन् । २०४९ सालमा कांग्रेसका अशोक कोइरालाले निर्वाचन जिते। २०५४ सालमा एमालेका रमेशचन्द्र पौडेल निर्वाचित भएका थिए । तर, महानगरपालिका भएपछि २०७४ सालमा भएको निर्वाचनबाट कांग्रेसका भीम पराजुली प्रमुख बने। हालसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा पालैपालो विराटनगरको नेतृत्व गरेका एमाले र कांग्रेसले गरेको देखिएको छ । तर, यस पटक के होला ? निक्र्योल गर्न कठिन छ। २०७४ सालको निर्वाचन परिणामको आधारमा भने कोइरालालाई जित सहज हुने गठबन्धन दलको विश्लेषण छ।

त्यसबेला कांग्रेस एक्लै चुनावी मैदानमा थियो र पनि कांग्रेसका भीम पराजुलीले २३ हजार ३१ मतसहित सहजै निर्वाचन जिते। एमालेका विनोद ढकालले झण्डै ६ हजार कम अर्थात् १७ हजार ३२१ मत पाए, जबकि त्यसबेला एमाले र विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकान्त्रिकबीच निर्वाचनमा तालमेल भएको थियो । तर, भारी मतान्तरले पराजुली निर्वाचित हुनुले कोइरालालाई प्रमुख पदमा अघि सारेको कांग्रेस विराटनगरमा बलियो रहेको पुष्टि हुन्छ ।

फेरि, यस पटक गच्छदार नेतृत्वको पार्टी कांग्रेसमै समाहित छ । अर्कोतिर, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) कांग्रेस नेतृत्वको गठबन्धनमा छन् र गठबन्धनका साझा उम्मेदवार हुन् कोइराला। उनै कोइरालाले द नेपालटपसँग भने, ‘मलाई निर्वाचन जित्नबाट कसैले रोक्न सक्दैन र ३० वैशाखको निर्वाचनले मलाई विराटनगर महानगरपालिकाको कुर्सीमा पुर्‍याएर विराटनगरवासीको सेवक बनाउनेछ।’ कोइरालाले महानगरमा बेथिति र भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन्।

मेट्रो अस्पताल निर्माण गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, नगर बस चलाउने र विपन्न समुदायलाई ३० युनिटसम्म बिजुली निःशुल्क उपलब्ध गराउने पनि कोइरालाको चुनावी प्रतिबद्धतामा छ। तर, कांग्रेसबाटै प्रमुख बनेका पराजुलीले प्रशंसनीय काम नगरेकाले कोइरालालाई असहज हुने कतिपयको अनुमान छ। हुन पनि विराटनगरमै रहेका हजारौँ सुकुम्बासीहरूको समस्या समाधान भएन । भ्रष्टाचार नियन्त्रण र सुशासन पनि कायम गर्न नसकेको पराजुलीमाथि आरोप छ ।

एमालेका उम्मेदवार थापा यिनै मुद्दाहरूमा केही थपेर निर्वाचन अभियानमा छन् । उनले निर्वाचनमा प्रतिस्पर्धा कोइरालासँग नहुने पनि बताए। ‘औधोगिक क्षेत्रको थप विकास गरेर समृद्ध विराटनगर बनाउने मेरो एजेन्डा हो । यहाँका २० हजार सुकुम्बासीको समस्या समाधान गर्ने, ५ वर्षभित्रमा विपन्नहरूलाई आवासको व्यवस्थापन गर्ने, फुसका घरमा जस्तापाता लगाइदिने, सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गराउने, स्पोर्ट्स एकेडेमी खोल्ने तथा हिलो र धुलोमुक्त विराटनगर बनाउने हो’, थापाले भने, ‘यी अभावहरूविरुद्ध निर्वाचनमा मेरो उम्मेदवारी हो ।

कोइरालाविरुद्ध होइन।’ उनले कोइरालालाई निर्वाचनमा पराजित गरेर समृद्ध विराटनगर बनाउने अभियानको नेतृत्व गर्ने पनि बताए । तर, उनको दल एमाले फुटेका कारण दाबी गरे जसरी निर्वाचन जित्न भने मुस्किल छ । १९ वटा वडा भएको विराटनगरको २, ५ र ११ नम्बर वडामा मात्र एमालेले निर्वाचन जितेको थियो, जबकि, उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टीले १२, १३, १४, १५, १७ गरी १८ वटा वडा जितेर दोस्रो दलको हैसियत बनाएको थियो । माओवादीले भने ६ नम्बर वडा मात्र जित्दा कांग्रेस १, ३, ४, ७, ८, ९ र १६ गरी ८ वडा जित्दै पहिलो बनेको थियो ।

यद्यपि, वडा तहमै कमजोर देखिएको एमाले उम्मेदवार थापाले भने निर्वाचन जित्ने बताएका हुन् । यी २ उम्मेदवार मात्र होइन, स्वतन्त्र उम्मेदवार उमेश यादव पनि ढुक्कले निर्वाचन जित्ने दाबी गर्छन् । १७ वैशाखमा निर्वाचन चिह्न लालटिन लिएर चुनावी मैदानमा छन् । माओवादीबाट असन्तुष्ट नमिता न्यौपानेसँग यादव समूहको गठबन्धन छ। २०७४ सालको निर्वाचनमा विराटनगर महानगरकै प्रमुख पदका उम्मेदवार यादव थिए । न्यौपाने उपप्रमुख पदकै उम्मेदवार थिइन् । त्यसबेला सङ्घीय समाजवादी र माओवादीबीच तालमेल थियो ।

अहिले दुवै जना स्वतन्त्र हैसियतबाट तिनै पदहरूमा उम्मेदवार बनेका हुन् । उनीहरूले विराट दरबारको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्ने, महानगर सफा बनाउने, सुकुम्बासी समस्या पूर्ण रूपमा समाधान गर्ने, सार्वजनिक स्थलमा शौचालयको व्यवस्था गर्ने र बाढीबाट हुने डुबानलाई नियन्त्रण गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले गठबन्धन दल र एमालेका उम्मेदवार निर्वाचनमा आफूसँग डराइसकेको दाबी गरे।

महानगरपालिकाको प्रमुखमा १६ जना प्रतिस्पर्धी छन्। जिल्ला निर्वाचन कार्यालय मोरङका अनुसार उनीहरूलाई १ लाख ३३ हजार १४२ जनाले मतदान गर्नेछन् । २०७४ सालमा भने १ लाख १३ हजार ७६१ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्