तालमेलभित्रको जालझेल : माहोलमा भर, व्यवहारमा डर



काठमाडौं । ३० वैशाख आउन मात्र ६ दिन बाँकी छ । नयाँ सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछिको दोस्रो अवधिका लागि स्थानीय तहको निर्वाचन हुँदै छ ३० वैशाखमा । देशभर रहेका ७५३ वटा पालिकाहरूमा एकै पटक निर्वाचन हुन लागेको हो ।

देशभरका ६ वटा महानगर, ११ वटा उपमहानगर, २७६ वटा नगर, ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वटा वडाका ३५ हजारभन्दा बढी जनप्रतिनिधिका लागि हुने निर्वाचनमा डेढ लाखभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् । यस पटकको स्थानीय तह निर्वाचनको परिदृश्य रमाइलो छ। रमाइलो यस मानेमा कि केन्द्रमा सङ्घीय सरकारमा ५ वटा फरकफरक विचार र मार्गका राजनीतिक दलहरूको गठबन्धन छ।

यही गठबन्धनको ‘अस्तित्व’सँगै ‘इज्जत’ पनि जोगाउने चुनौतीका कारण सबै तहमा ‘तालमेल’को शङ्ख बजाइएको छ। कतिपय स्थानमा गठबन्धनका ५ दलमध्ये सम्भव भएका दलहरूबीच तालमेल भएको पनि छ भने कतिपय स्थानमा तालमेलका ठाउँमा ‘झालमेल’ भएको अवस्था छ। चितवनको भरतपुर होस् वा कास्कीको पोखरा महानगर, जुन देशभरकै चासोका महानगरमा पर्छन्, त्यहाँ गठबन्धन दलका केन्द्रको निर्देशनलाई लत्याउँदै कांग्रेसका स्थानीय नेताहरूले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

बिहीबार मात्र भरतपुरमा ‘ओइरिएको’ कांग्रेस सभापतिदेखि अन्य पदाधिकारी तथा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्षहरू, जो पूर्वप्रधानमन्त्रीसमेत हुन्, सम्मको उपस्थितिले ‘शङ्काको सुविधा’ दिएको छ कि गठबन्धनको तालमेलमा कतै झेल त भइरहेको छैन ? माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हुनुले मात्र होइन, प्रचण्डकी सुपुत्री भरतपुर प्रमुखको उम्मेदवार हुनुले मात्र पनि होइन, देशभरका ६ वटा महानगरमध्ये सजिलो र पहिले पनि जितेको महानगर भरतपुर नै भएकाले पनि प्रचण्ड र माओवादीलाई भरतपुर पुनः जित्नै पर्ने दबाब छ। अझ प्रष्ट भन्दा, भरतपुर महानगरमा प्रचण्डले ‘खन्याएको’ ठूलो रकम, जुन विकासका नाममा होस् वा अन्य, त्यसलाई खेर जान नदिने ध्याउन्न प्रचण्डमा हुनु पनि अन्यथा होइन ।

अर्कातिर भरतपुर रेणु दाहालले पुनः जित्नै नहुने पनि देखिँदैन किनभने अन्य महानगर, नगर वा पालिकाहरूमा भन्दा भरतपुरमा नै भौतिक र अन्य विकासका पूर्वाधार बढी रहेको अनुगमनमा गएकाहरूले बताइरहेका छन् । भरतपुर मात्र नभएर समग्र चितवनको विकासकै लागि प्रचण्डको विशेष भूमिका र पहल भएकामा त्यहाँका अन्य दलका नेता, कार्यकर्तासमेत सहमत छन् । तथापि, राजनीतिक निष्ठा र आस्थाको सवाल बडो पेचिलो हुने गर्छ । विगत २०७४ सालको स्थानीय निर्वाचनमा आफ्नै पार्टी (अझ सभापति)बाट ‘शहीद’ बनाइएका दिनेश कोइराला हाल पार्टीका केन्द्रीय सदस्य छन्।

रेणु दाहाललाई जिताउन तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा, जो अहिले पनि सभापति छन्, ले केन्द्रबाट सोझै कोइरालाको उम्मेदवारी फिर्ता लिइदिएका थिए । त्यो रिस र रोष यस पटक भरतपुरबासीले रेणुमाथि थोपर्दै छन् भन्ने आँकलन भइरहेको छ। भरतपुरकै पूर्वउपप्रमुख, राष्ट्रियसभा सदस्यसमेत भइसेकका भरतपुरकै शालीन, नम्र र भद्र व्यक्तित्व जगन्नाथ पौडेलको बागी उम्मेदवारीले भरतपुरमा गठबन्धनलाई सङ्कटमा पारेको सहजै बुझिन्छ। बिहीबारको २ जना पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्रीको भरतपुर दौडाहा पनि त्यही ‘औडाहा’को प्रतिबिम्ब भएको चर्चा राजनीतिक वृत्तमा हुने गरेको छ।

उता, कास्कीको पोखरा महानगरमा गठबन्धनको सहमतिमा ढुङ्गा लगाइदिएका छन् कांग्रेसका बागी उम्मेदवार विमल कार्कीले। उनले कांग्रेसले कांग्रेसलाई नै भोट हाल्न नपाउने अवस्था आएको भन्दै पार्टीले गरेको कारबाही स्वीकार्ने तर उम्मेदवारी फिर्ता नलिने बताए।

पोखरामा गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई प्रमुखका उम्मेदवार बनाएको छ। तर, यहाँ पनि गठबन्धनको ‘टाउको दुखाइ’ बनेका छन्, कार्की। रमाइलो भनुँ वा अनौठो त के भने, यता भरतपुर महानगरमा रेणु दाहालका नाममा गठबन्धनका सबैजसो शीर्ष नेता हापझाँप गर्दै दौडाहा गरिरहँदा उता पोखरामा भने धनराज आचार्यका नाममा स्वयं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसमेत पोखरा पुगेनन् । यी त गठबन्धनका नाममा चर्चामा रहेका महŒवपूर्ण महानगरपालिकाका सन्दर्भ भए।

देशभरका ७५३ वटै पालिकाहरूमा एकनासको तालमेल छैन गठबन्धन दलहरूबीच । कतै ‘मित्रवत् प्रतिस्पर्धा’का नाममा त कतै भिन्नाभिन्नै प्रतिस्पर्धामा गठबन्धन दलहरू भिडिरहेका छन् । कतिपय पालिकाहरूमा त केही पदमा गठबन्धन, धेरै पदमा ‘मित्रवत् प्रतिस्पर्धा’को अवस्था पनि छ। यस्तो अवस्थामा कसरी विश्वास गर्लान् गठबन्धन दलहरूले कि तालमेलमा झेल हुनेछैन?

एक राजनीतिक विश्लेषक गठबन्धनको यस्तो असरल्ल र अव्यवस्थित तालमेललाई स्वार्थका लागि भएको घाती खेल मात्र ठान्छन् । उनको भनाइ छ, ‘केन्द्रमा सत्ता टिकाई राख्न देखावटी रूपमा गरिएको खेल मात्र हो यो ।’ उनी गठबन्धनको यस्तो ‘खेल’लाई दिगो र भरपर्दो मान्न तयार छैनन् । उनका अनुसार गठबन्धनकै शीर्ष नेतृत्वको भित्री आकाङ्क्षा पनि असल र इमान्दार छैन।

भन्छन्, ‘बाहिर एउटा कुरा बोलेर भित्र अर्कै खेल खेलिरहेका हुन सक्छन् गठबन्धनकै शीर्ष नेतृत्व ।’ उनको आशय थियो– गठबन्धनभित्रकै दलहरूले एकले अर्कालाई विश्वास गर्दैनन् । एक दलका कार्यकर्ता, मतदाताले अर्को दलका उम्मेदवारलाई सहजै मत हाल्दैनन् । उनको दाबी छ– ‘अहिलेको गठबन्धनमा गठ मात्र बाँकी छ, बन्धन खुस्किइसक्यो ।’

प्रतिक्रिया दिनुहोस्