स्थानीय तह निर्वाचन : ललितपुर महानगरमा १०/१८ को आँकडा



काठमाडौं । तत्कालीन नेपाल उपत्यकाको ३ नगरमध्येको सर्वप्राचीन नगर हो, ललितपुर। मध्ययुगीन पुरातात्विक सम्पदाले यो महानगरपालिका भरिपूर्ण छ। ‘सम्पदा नगरी’ पनि भनिएको यही महानगरपालिकाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनपछि नयाँ नेतृत्व पाउनेछ।

महानगरपालिकाको नेतृत्वका लागि प्रमुख पदमा १३ जना प्रतिस्पर्धी छन् । प्रतिस्पर्धीमध्ये केही स्वतन्त्र छन् । सबै प्रतिस्पर्धी निर्वाचन प्रचारमा व्यस्त छन् । बिहान ७ बजेदेखि प्रतिस्पर्धीहरू साँझसम्मै प्रचार अभियानमा निस्केर मतदातासँग मत मागिरहेका छन् । उनीहरूलाई मत दिनेको सङ्ख्या २०७४ सालमा भन्दा यस पटक बढेको छ । बढेको मतदाताको सङ्ख्या ९ हजार ९६८ हो । अर्थात् १ लाख २२ हजार ८९० जना मतदाताले ललितपुर महानगरपालिकाको प्रमुख पदमा मतदान गर्न पाउनेछन् । मतदाताले कसलाई महानगर प्रमुख बनाउँछन् ?

निर्वाचन माहोलको विश्लेषण गरेर ठोकुवा गर्न सकिने स्थिति छैन तैपनि ५ दलीय गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार बनेका चिरीबाबु महर्जन र नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई प्रमुख प्रतिस्पर्धीका रूपमा धेरैले हेरेका छन् । फेरि, यी २ जना चीरपरिचित प्रतिस्पर्धी हुन् । २०७४ सालमा महानगर प्रमुखमा उनीहरूबीच नै प्रतिस्पर्धा भएको थियो । देशका अन्य ५ महानगरपालिकामा गठबन्धनले नयाँ उम्मेदवार खडा गर्दा ललितपुरमा भने महर्जनलाई नै उम्मेदवार खडा गरेको हो । एमालेले पनि ललितपुर र वीरगंजबाहेकका महानगरपालिकामा नयाँ उम्मेदवारलाई अघि सारेको छ । २०७४ सालमा महर्जनले ३२६ मतान्तरले मात्र व्यञ्जनकारलाई पराजित गरेका थिए।

त्यसबेला महर्जनले २४ हजार ६४२ र व्यञ्जनकारले २४ हजार ३१६ मत प्राप्त गरेका थिए। यस पटक भने महर्जनलाई पराजित गर्ने दाबी व्यञ्जनकारको छ । उनले द नेपालटपसँग भने, ‘निर्वाचन जित्ने माहोल बनिसक्यो । यस पटक मलाई जित्नबाट कसैले रोक्नै सक्दैन ।’ उनलाई कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनारायण ढकाल नेतृत्वको नेपाल परिवार दलको साथ छ । यी दलहरूको साथले निर्वाचन जित्ने उनी बताउँछन् । २९ वटा वडा रहेको महानगरपालिकामा सर्वाधिक उनी नेतृत्वमा निर्वाचनमा गएको एमालेले जितेको थियो । १० वटा वडामा सीमित भए पनि महानगरको प्रमुख र उपप्रमुख भने कांग्रेसले जित्यो । नेकपा (माओवादी केन्द्र)ले ४ वटा वडा र स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका थिए ।

यस पटकको स्थानीय निर्वाचनमा भिन्न परिदृश्य पनि छ । एमाले–राप्रपा नेपालबाहेक एक्लाएक्लै निर्वाचन लडेको कांग्रेस, माओवादी केन्द्रसहित तत्कालीन सङ्घीय समाजवादी पार्टी (हालको जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धन गर्दै एक ठाउँमा छन् । एमालेदेखि फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनमै छ । गठबन्धन भएका कारण निर्वाचन जित्न भने व्यञ्जनकारलाई असहज हुने आँकलन छ । यद्यपि, उनी भने तत्कालीन साझा पार्टीका उम्मेदवार रमेश महर्जनले ल्याएको मतमध्येबाट ७ हजार ल्याउँदा निर्वाचन जित्ने आधार प्रस्तुत गर्दै आएका छन् ।

त्यति मत तान्न सकिँदा महर्जनको मतान्तर करिब १ हजार ८०० हुने हिसाब छ । साझा पार्टीका रमेश महर्जनले १३ हजार ४५८ मत पाएका थिए । हुनत तत्कालीन साझा पार्टी र हालको विवेकशील साझा पार्टीले उज्ज्वल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रमेशले पाएको मत उज्ज्वलले रक्षा गर्न सक्छन् कि सक्दैनन् ? निक्र्योल गर्न मुस्किल छ । यता, गठबन्धनका उम्मेदवार चिरीबाबुले पनि रमेशले पाएको मत आफूलाई आउने दाबी गरेका छन् । गठबन्धनका दलहरूको मत सर्लक्कै आउने र १० हजार बढी मतान्तरले प्रतिस्पर्धी हरिकृष्णलाई पराजित गर्ने उनले दाबी गरे। ‘शानदार जित हुने स्थिति छ मेरो । पहिले ३०० बढी मतले जितेको थिएँ। अब त १० हजार बढी मतले जित्छु’, चिरीबाबुले भने।

उनले भनेअनुसार गठबन्धन दलहरूको सर्लक्कै मत खस्नेमा भने शङ्का छ। कारण– गठबन्धन दलहरूबीच अझै असन्तुष्टि कायम छ । बागी उम्मेदवार पनि छन् । कांग्रेसकै केही नेताहरूले चिरीबाबुको ५ वर्षे कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका छन् । यी कारणहरूले गठबन्धनको मत सर्लक्कै नखसे उनको दाबी खण्डित हुनेछ । यति हुँदाहुँदै पनि चिरीबाबुको नेतृत्वमा ललितपुर महानगरपालिकाले ‘मुहार’ फेरिएको चर्चा भने छ। अन्य महानगरपालिकाको तुलनामा पूर्वाधारसँगै कार्यसम्पादन मूल्याङ्कनमा राम्रो काम भएको विपक्षी दल एमालेकै नेताहरूले बताउँदै आएका छन्।

फेरि, चिरीबाबु ज्यापु समाजको ३ वर्ष अध्यक्ष (२०५९ देखि २०६२ सालसम्म) भएका कारण ४० हजार बढी ज्यापु मतदाताको मत आउने पनि उनको अनुमान छ। तर, चिरीबाबुलाई जाने ज्यापु समाजको मत काट्न सक्ने उम्मेदवारको रूपमा अष्ट महर्जनलाई हेरिएको छ। अघिल्लो पटक १० हजार मत नकटाए पनि राम्रो मत ल्याएका थिए। यसले पनि चिरीबाबुले निर्वाचनमा जित्ने दाबी गरेको मतान्तर खण्डित गर्न सक्ने विश्लेषण हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्