निर्वाचनमा मनोरञ्जन दिँदै नेता



काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरू सार्वजनिक गरिएका चुनावी एजेन्डाहरूलाई छायामा पार्नेगरी मनोरञ्जनात्मक र उत्तेजक अभिव्यक्ति दिइरहेका छन् । निर्वाचनमा त मतदातालाई आफ्ना एजेन्डाहरू थाहा दिएर मत माग्नुपर्ने हो। यसको ठीक उल्टो शीर्ष नेताहरू आफ्नै दलले यसअघि सार्वजनिक गरेका एजेन्डाहरूलाई छायामा पार्ने खालका अभिव्यक्तिहरू दिइरहेका छन्।

यस्तो अभिव्यक्ति दिने नेतामा सबैभन्दा अघि छन्, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। सोमबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले नेकपा (माओवादी केन्द्र)लाई ‘जुका जस्तो, कहिले कांग्रेसको रगत चुस्छ, कहिले एमालेको’ भने। ओलीले घुमाउरो भाषामा माओवादीले कांग्रेस–एमालेलाई सत्ताका लागि उपयोग गर्ने गरेको बताएका हुन्। ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई जिताउन उनका एजेन्डा भने सुनाएनन्।

आइतबार चितवन पुगेर कांग्रेस नेता–कार्यकर्तालाई हास्यरसयुक्त गीत पनि सुनाइदिए, ‘पोहोर पनि ढाँट्यौ आमा ! अनि पीर बिसाउने ठावैँ पाइनँ ।’ ९ वैशाखमा ओलीले स्थानीय तह निर्वाचनको प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेका थिए, जहाँ चुनावी एजेन्डाहरू छन् । ती एजेन्डाहरू सुनाएर आफ्ना पार्टीबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार भएका विजय सुवेदीलाई मत मागेनन्। आफ्नै पार्टीका एजेन्डाहरूलाई बेवास्ता गर्दै पटकपटक मनोरञ्जनात्मक अभिव्यक्ति मात्र दिए।

उनी माओवादीलाई लक्षित गरेर बिरालोलाई कांग्रेसले भन्दा बढी दूध दिने क्षमता भएको बताउँदै छन् । उनी भन्नचाहिँ देश विकासको नीति, कार्यक्रम, भिजन र योजना रहेको बताउँछन् । तर, तीचाहिँ सुनाउँदैनन् । एमालेबाटै काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका केशव स्थापित पनि उनीभन्दा कम छैनन्। सोमबार चुनावी अभियानमै रहँदा मतदाताहरूसँग उनले मत नदिने मतदाता नर्क पुग्ने अभिव्यक्ति दिए। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार स्थापितको उक्त अभिव्यक्ति ‘द्वेषपूर्ण’ त हो नै, ‘चेतावनीपूर्ण’ पनि हो।

यसअघि पनि उनले एक कार्यक्रममा ‘यु आर नाइस लेडी, बट तपाईंको थुतुनो ठीक भएन’ भनेका थिए । उनको यो ‘घृणा’सहितको अभिव्यक्ति हो।निर्वाचनअन्तर्गत मतदान गर्ने दिन आउन भने ३ दिन बाँकी छ । तर, उनको यस्तो खालको अभिव्यक्ति रोकिएको छैन। अभिव्यक्तिलाई नै लिएर निर्वाचन आयोगले २ पटक स्पष्टीकरणसमेत सोधिसकेको छ उनीसँग । ओली र स्थापित मात्र होइन, प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले पनि सोमबार एमालेले निर्वाचन जिते स्थानीय सरकार भङ्ग गर्ने बताए। ‘ओलीले स्थानीय सरकारलाई पनि भङ्ग गरिदिन्छन्।

हिजो संसद् भङ्ग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन्’, कैलालीको धनगढीमा आयोजित चुनावी सभामा देउवाले भने। त्यहाँ गठबन्धन दलहरूका साझा उम्मेदवार नृपबहादुर वड प्रमुख पदका उम्मेदवार छन्। उनी धनगढी उपमहानगरपालिकाका पूर्वप्रमुख पनि हुन् । देउवाले ११ वैशाखमा लोकतन्त्र दिवसको दिन पारेर सार्वजनिक पार्टीको घोषणापत्रमा उल्लेखित एजेन्डाको आधारमा त कहाँ हो कहाँ, ओलीले स्थानीय सरकार भङ्ग गर्ने डर देखाएर मतदातासँग मत मागे । उनले एमालेले निर्वाचन जिते लोकतन्त्र, संविधानदेखि गणतन्त्र जस्ता प्राप्त राजनीतिक उपलब्धिहरू गुम्ने पनि बताउने गरेका छन् ।

देउवासँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त झन् गठबन्धनले निर्वाचन नजिते ‘देश दुर्घटना’मा पर्ने चेतावनी दिँदै आएका छन्। ओलीप्रति खनिँदै उनले प्रतिगामी, दक्षिणपन्थी र परिवर्तन उल्ट्याउन चाहने तत्व भनेर आलोचना पनि गर्छन् । तर, आफ्ना पार्टीका एजेन्डा भने सुनाउँदैनन् । जहिल्यै ओलीमाथि खनिन्छन् मात्र । प्रधानमन्त्री पत्नी आरजु देउवा पनि उस्तै छन् । कहिले कांग्रेस उम्मेदवारलाई मत माग्दै एउटा गाउँबाट ५–६ जनालाई ‘फ्री भिसा, फ्री टिकट’मा मलेसिया पठाउने त कहिले कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने बताउँछिन् ।

राजनीतिक विश्लेषक डा. विष्णु दाहाल नयाँ एजेन्डा नहुँदा दलका शीर्ष नेताहरू निर्वाचनमा पनि आरोप–प्रत्यारोपदेखि उत्तेजक अभिव्यक्ति दिन पछि नपर्ने गरेको बताउँछन् । ‘एक त नयाँ एजेन्डा नै छैन । अर्को एजेन्डा भए पनि त्यसअनुसार काम गर्ने पनि होइन । यस्तो भएपछि त आरोप–प्रत्यारोप लगायो । यस्तै त हो नि !’, दाहाल भन्छन् ।

प्रतिक्रिया दिनुहोस्