केन्द्र पुगे २ लाख ६५ हजार सुरक्षाकर्मी



काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको सुरक्षाका लागि खटाएका सुरक्षाकर्मीहरू मतदान केन्द्रमा पुगेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा पुगिसकेका हुन् । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व उनीहरूमाथि छ । निर्वाचन नसकुञ्जेलसम्म उनीहरू सुरक्षाका लागि तैनाथ हुने गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले करिब २ लाख ६५ हजार सुरक्षाकर्मी निर्वाचनमा परिचालन भएको बताए । ‘निर्वाचन प्रयोजनका लागि हामीले नेपाली सेनासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिसकेका छौँ । उनीहरूको सङ्ख्या २ लाख ६५ हजारको हाराहारी छ । निर्वाचन नसकुञ्जेलसम्म उनीहरू तैनाथ हुन्छन्’, उनले द नेपालटपसँग भने ।
स्थानीय तह निर्वाचन सुरक्षा कार्यविधि, २०७८ अनुसार सुरक्षाकर्मी परिचालन भएका हुन् । परिचालित सुरक्षाकर्मीमध्ये सर्वाधिक म्यादी प्रहरी १ लाख छन् ।

नेपाली सेना ७१ हजार ५०० जना, नेपाल प्रहरी ६२ हजार जना र सशस्त्र प्रहरी ३२ हजार जना पनि निर्वाचन सुरक्षा प्रयोजनका लागि परिचालन भइसकेका छन् । निर्वाचन सुरक्षा कार्यविधिअनुसार मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् । उनीहरूले मतदानस्थल, मतदान केन्द्र, उम्मेदवार, विशिष्ट व्यक्ति, पर्यवेक्षक, प्रमुख निर्वाचन अधिकृत र मतदान अधिकृतलगायत निर्वाचनमा खटिएका कर्मचारीहरूको सुरक्षा गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीले जानकारी दिए । मतपेटिका, मतदाताको आवतजावतसँगै दलका नेता, कार्यकर्ताहरूको सुरक्षा गर्ने जिम्मा पनि नेपाल प्रहरी र म्यादी प्रहरीलाई रहेको प्रवक्ता केसीले बताउँछन् ।

उनका अनुसार प्रहरी र म्यादी मतदानस्थलको सुरक्षामा पहिलो घेरामा हुनेछन् । सशस्त्र प्रहरी दोस्रो घेरामा र नेपाली सेना तेस्रो घेरामा रहेर सुरक्षा व्यवस्था कायम गर्न खटिनेछन् । सशस्त्र प्रहरीले मोबाइल गस्ती, जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकृत, पालिकास्तरीय निर्वाचन अधिकृत र निर्वाचनमा विजयी उम्मेदवारको सुरक्षा गर्नेछ । मतदानपछि भने मतपेटिका तथा मतपत्रको ढुवानी पनि गर्ने सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए ।

सशस्त्र प्रहरीले चुनावी सुरक्षा सम्वेदनशील पहिचान भएका १११ ठाउँमा रिजर्भ टोली पनि राखेको छ । कतै अवाञ्छित गतिविधि भए तत्काल सुरक्षा प्रदान गर्न सकोस् भनेर टोली राखिएको डीआईजी खड्काले बताए । ‘हाम्रा जनशक्ति ३२ हजार परिचालन भइसके । त्यसमध्ये १११ वटा ठाउँमा चाहिँ रिजर्भ टोली खटाएका छौँ । टोलीले कतै केही अवाञ्छित गतिविधि भयो भन्ने तत्काल पुगेर नियन्त्रण लिओस् भन्ने हो’, डीआईजी खड्काले भने ।

नेपाली सेनालाई भने मतपत्र ढुवानी र मतपेटिकाको सुरक्षा गर्ने जिम्मा छ । मतपत्र छपाइको सुरक्षा भने सेनाले गरिसकेको छ । अब सशस्त्र प्रहरीसँगै मिलेर जिल्ला निर्वाचन कार्यालय, विशिष्ट व्यक्ति र सुरक्षा सम्वेदनशील सबै स्थानको सुरक्षा सेनाले गर्नुपर्ने भएको छ । सरकारले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, ०७८ अनुसार सेना परिचालन गरेको हो । सैनिक प्रवक्ता नारायण सिलवालले निर्वाचन सुरक्षालाई नै ध्यानमा राखेर पूर्वी कमान्डको इटहरी, मध्य कमान्डको पोखरा र पश्चिम कमान्डको सुर्खेतमा हेलिकोप्टरसहितको टोली तैनाथ गरिएको जानकारी दिए ।

सैनिक मुख्यालय जङ्गी अड्डाबाट पनि मतदानको दिन हवाई गस्ती हुनेछ । बढीमा ३० मिनेटमा हेलिकोप्टरसहित तैनाथ सेनाको टोली मतदान केन्द्रमा पुग्ने पनि सेनाले जनाएको छ ।निर्वाचन सुरक्षाका लागि सेना १ वैशाखदेखि परिचालित छ । निर्वाचन बिथोल्न निर्वाचनविरोधी शक्तिहरूले बम राखे ‘डिस्पोज’ गर्न ‘डिस्पोजल’ टोली पनि ठाउँठाउँमा परिचालित छ ।यस्तै, सरकारले मंगलबार राति १२ बजेदेखि ७२ घन्टासम्म चीन र भारत सीमा सिल गरेको छ । सिल अवधिमा सीमा वारपार गर्न पाइनेछैन ।

गृह मन्त्रालयले भारतसँग सीमा जोडिएको करिब १ हजार ८८० किलोमिटर र चीनसँग सीमा जोडिएको करिब १ हजार ४१४ किलोमिटर दूरीमा सिल गरेको हो । नेपालका ४२ वटा जिल्लाका सीमा भारत र चीनसँग जोडिएका छन् । निर्वाचनअन्तर्गत मतदाताले ३० वैशाखमा मतदान गर्नेछन् । तर, मतदान गर्ने दिन नजिकिँदै जाँदा सुरक्षा चुनौती बढ्दै गएको भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गरेको छ । आयोगले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था कडा पार्नुपर्ने जनाएको छ ।

‘मानिसहरू अस्पताल नै भर्ना हुनुपर्ने प्रकृतिका हिंसात्मक घटनाका जानकारी प्राप्त भएका छन्, जसका कारण सुरक्षा व्यवस्थामा अझै कडाइ गर्नुपर्ने आवश्यकता देखिन्छ’, आयोगको विज्ञप्तिमा छ ।देश सङ्घीय प्रणालीमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल निर्माण गरिएका छन् । २१ हजार ९५५ मतदान केन्द्र छन् । १ लाख ९ हजार ८८ जना कर्मचारी मतदानस्थलमा पुगेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६५ जहार ८६५ जना स्वयंसेवक पनि मतदान केन्द्रमा पुगिसकेका जानकारी दिए । मतदाता भने १ करोड ७७ लाख ३३ हजार ७२३ छन् । १ लाख ४५ हजार ९२ जना उम्मेदवार छन् । उनीहरूमध्येबाट ३५ हजार २२१ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्