ग्यास छ/ग्यास छैन, गयो कहाँ ?



काठमाडौं । पछिल्लो एक महिनादेखि उपभोक्ताले बजारमा सहज रूपमा ग्यास पाउन सकेका छैनन् । बजारमा ग्यासको सहजता नहुँदा उपभोक्ताले ग्यासका लागि ग्यास पसलमा घन्टौँ लाइन बस्नुपरेको छ । मैतीदेवीमा बस्दै आएकी अमृता कार्कीले १५ दिनदेखि ग्यास नपाएको सुनाइन् । घरमा ग्यास सकिएपछि सधैँजसो ल्याउने पसलमा ग्यास किन्न जाँदा पसलमा ग्यास छैन भन्दै फर्काएको उनको भनाइ छ ।

‘चुह्लोमा जोडेको ग्यास सकिएर रातो बाल्न थालेको छ । मैले प्रयोग गर्ने एचपी ग्यास हो । १५ दिनअघि लाइन राखेको पाएको छैन’, उनी भन्छन्, ‘पसलमा आज आउँछ, भोलि आउँछ भन्छ । तर, आजसम्म ग्यास पाएको छैन ।’ अझै २ दिनसम्म ग्यास नपाएपछि घरमा खाना पकाउने ग्यास नै नहुने कार्की बताउँछिन् । यस्तै, कालोपुलमा बस्दै आएकी सरिता खड्काले पनि १० दिनदेखि ग्यास नपाएको गुनोसो गरिन् । ‘चुह्लोमा जोडेको ग्यास खाली भइरहेको छ । ग्यास पसलमा ग्यास लिन जाँदा पसलेले ग्यास आएकी छैन भन्दै फर्काइरहेका छन्’, उनले भनिन् ।

कार्की र खड्का त उदाहरण मात्र हुन्, पछिल्लो एक महिनादेखि सर्वसाधारणले सहज रूपमा ग्यास नपाउँदा सास्ती भोग्नु परिरहेको छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बजारमा सरकारको उपस्थिति नहुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै अभाव सिर्जना गरेको बताउँछन् । निर्वाचनको मुखमा व्यापारीले विभिन्न बहानामा अत्यावश्यक वस्तु लुकाएर अभाव सिर्जना गर्ने काम गरेको उनको भनाइ छ ।

बजारमा सरकारको उपस्थिति नहुँदा व्यापारीले त्यसको फाइदा उठाउने काम गरेको उनले बताए । बजारमा अत्यावश्यक वस्तुको अभाव हुन नदिन सरकारको प्रभावकारी अनुगमन हुनुपर्ने अध्यक्ष महर्जन बताउँछन् । यस्तै, उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकार निर्वाचनमा व्यस्त हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै ग्यास लुकाउने काम गरेको बताउँछन् ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय बजारमा ग्यासको कुनै अभाव नभएको दाबी गर्छन् । बजारमा ग्यास आपूर्तिमा कुनै समस्या नभएको उनको भनाइ छ । अघिल्लो महिना व्यापारी र उद्योगहरूले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठाउँदा ग्यासमा असज भएको थियो । हाल ग्यास आपूर्तिमा कुनै समस्या नभएको दाबी उनको छ । कुनै अवरोधबिना आयात भइरहेको जानकारी दिए । उनले मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत भइरहेको बताए ।

नेपाल एलपी ग्यास संघका अध्यक्ष कुलप्रसाद मल्ली निर्वाचनले गर्दा बजारमा ग्यासको माग बढेपछि बजारमा ग्यासको अभाव देखिएको बताउँछन् । निर्वाचनका कारण पछिल्लो समय २० प्रतिशतले ग्यासको खपत बढेको उनको भनाइ छ ।
अब केही दिनमै बजारमा ग्यास आपूर्तिमा सहज हुने अध्यक्ष मल्ली बताउँछन् । ग्यासको आपूर्तिमा कुनै समस्या नभएको तर माग बढेपछि केही बजारमा केही समस्या देखिएको उनको भनाइ छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बजारमा ग्यासको कुनै समस्या नभएको दाबी गरे । उनले निर्वाचनपछि मूल्य वृद्धि हुने भन्ने हल्लाको भरमा केही ग्यास बिक्रेताले ग्यास लुकाउँदा बजारमा ग्यासको अभाव देखिएको बताए ।

उपभोक्ताबाट बजारमा ग्यास नपाएको गुनासो आउँदा विभागको अनुगमन टोलीले अनुगमन गरेपछि अहिले ग्यासको समस्या कम भएको महानिर्देशक शर्माले दाबी गरे । ग्यास हुँदाहुँदै ग्यासको अभाव देखाउने धेरै व्यापारीलाई विभागले कारबाहीसमेत गरेको उनले बताए । पछिल्लो समय उपभोक्ताबाट ग्यास नपाएका गुनासहरू पनि कम हुँदै गएको शर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्