स्थानीय निर्वाचन : आजदेखि ६ दिनसम्म विद्यालय बन्द



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखिम विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालयहरु आगामी ६ दिनसम्म बन्द हुने भएका छन् ।

सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो । वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ ।

जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् । विद्यालयहरु बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरुको संख्या आजबाट बढेको छ ।

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् । सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ ।

कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सन्चालन भइरहेका छन् । काठमाडौं र भक्तपुरका जिल्ला प्रशासन कार्यालयहरुले सूचना नै जारी गरेर २८ र २९ गते सेवा प्रभावित हुने जनाएका छन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले भने सीमित कर्मचारीहरुको भरमा अत्यावश्यक सेवा दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्