गुल्मी पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुग्यो (अपडेट)



गुल्मी : सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक र ४ लिम्घामा गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने अझै २ जना बेपत्ता भएका छन्। सोमबार राति गएको पहिरोले सत्यवती गाउँपालिका गुल्मीमा ५ घर पुरिएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ। 

सत्यवति गाउँपालिकाका २ वटा वडाका ३ घर पहिरोमा पुरिँदा ११ जनाको मृत्यु भएको हो। लिम्घामा मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ भने अरू २ जनाको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

लिम्घामा मृत्यु भएका एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय कम्बु बिक, २५ वर्षीय निर्मला बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, ७ वर्षीय शिवानी बिकको शव बाहिर निकालिएको प्रहरी जनाएको छ। वडानम्बर ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु र पहिरोबाट बच्न भाग्ने क्रममा ६३ दुर्गाबहादुर सिंजाली मृत्यु भएको छ।

पहिरोमा परेका ८ वर्षीया तारा बिक र ६ वर्षीय सुमन बिकको शव भने निकाल्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए। ठूलो लुम्पेमै रुद्र बिकको घर पनि पहिरोले पुरेकोे छ। पहिरोमा परी ४० वर्षीया मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन्। अन्य २ जना घाइते भएका छन्।

पहिरोका कारण ठूलो लुम्पेकको करिब २ सय घर जोखिममा रहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए। सिङ्गो गाउँ नै पहिरोको प्रभावित रहेकाले संख्याको आकंलन गर्न सकिने अवस्था नरहेको अध्यक्ष ढकालले बताए।

 

प्रतिक्रिया दिनुहोस्