कुन नेताले कहाँबाट हाल्दै छन् भोट ?



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवादेखि सबै राजनीतिक दलका नेताहरू मतदान गर्न गृहजिल्ला गइरहेका बेला राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले भने मतदान नगर्ने भएका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतले दिएको जानकारीअनुसार संविधानको संरक्षक र देशवासीको अभिभावक भएको भन्दै कुनै दल विशेषका उम्मेदवारलाई राष्ट्रपति भण्डारीले मतदान नगर्ने भएकी हुन्। राष्ट्रपति भण्डारीले यसअघि २०७४ सालमा पनि मतदान गरेकी थिइनन् । उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ चपलीकी मतदाता हुन्। उपराष्ट्रपति पुनका प्रेस सल्लाहकार मनोज घर्ती मगरले पुनले पनि देशको अभिभावकीय भूमिकामा रहेकाले कुनै दलका उम्मेदवारलाई मतदान नगर्ने बताए ।

‘उपराष्ट्रपति स्वतन्त्र र साझा भएका कारण अभिभावकको रूपमा रहेर मतदान नगर्ने भन्नुभएको छ । उहाँले मतदान गर्नुहुन्न । अघिल्लो पटक पनि मतदान गर्नुभएन’, मगरले द नेपालटपसँग भने । उपराष्ट्रपति पुनको मतदान केन्द्र भने रोल्पाको परिवर्तन गाउँपालिका– २ मा छ। राष्ट्रपति र उपराष्ट्रपतिबाहेक प्रदेश प्रमुखहरू पनि स्वतन्त्र भूमिमा हुन्छन् । तर, मतदान गर्ने कि नगर्ने? भन्नेमा कोही प्रदेश प्रमुख दोधारमा छन् । कोही भने मतदान नगर्ने पक्षमा छन् । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले मतदान नगर्ने भएका छन् ।

काठमाडौंमा रहेकाले गाउँ फर्कने तत्काल योजना नरहेको उनले बताए। ‘अहिले काठमाडौंमा छु । तत्काल गाउँ फर्किने योजना छैन’, खापुङले भने,‘‘म भोट हाल्दिनँ।’ उनी तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका– ७ का हुन् । उनको मतदाता नामावली पनि त्यहीँ छ । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले पनि मतदान नगर्ने भएका छन्। उनको मतदाता नामावली बाजुराको बूढीगङ्गा नगरपालिकामा छ । मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले भने मतदान गर्न पाउने/नपाउनेबारे राष्ट्रपति कार्यालयसँग जानकारी मागेका छन् । जबाफ आएपछि मतदान गर्ने कि नगर्ने भन्ने टुङ्गो लाग्ने उनले बताए।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन भने गृहजिल्ला चितवनमा छन् । स्रोतका अनुसार उनी मतदान गर्न गएका हुन् । बाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र कर्णाली प्रदेश प्रमुख तिलक परियारको मतदान गर्ने कि नगर्ने भन्ने टुङ्गो लागेको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले भने मतदान गर्ने भएका छन् । गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को असिग्रामस्थित आशाखर्च मा.वि. केन्द्रमा देउवाले मतदान गर्ने देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। देउवाले अघिल्लो पटक पनि मतदान गरेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले पनि मतदान गर्ने भएका छन्। सिन्धुपाल्चोककको चौतारा साँगाचोकगढी नगरपालिका– ४ को पञ्चकन्या मा.वि. मतदान केन्द्रमा पुगेर सापकोटाले मतदान गर्ने भएका हुन्। सभामुख स्वतन्त्र पद भए पनि तर उनी भने मतदान गर्न जाने प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। प्रमुख विपक्षी दल तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा हो । तर, उनको मतदाता नामावली भक्तपुरमा छ । संसदीय निर्वाचन क्षेत्र भने ओलीको झापा– ५ हो । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बालकोटस्थित महेन्द्र शान्ति विद्यालय केन्द्रमा ओलीले मतदान गर्ने बताए । ओलीले २०७४ सालमा पनि सोही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनको भरतपुर महानगरपालिका– १४ को शान्तिपुर मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । त्यहाँ उनकी छोरी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छन् । उपप्रमुखमा भने कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका– २ र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका– ९ को राष्ट्रिय नि.मा.वि. मतदान केन्द्रमा मतदान गर्नेछन्।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगरस्थित स्नातकोत्तर क्याम्पस र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका– १ को अन्नपूर्ण मा.वि. मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका पुगेर मतदान गर्ने भएका छन् । शुक्रबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ।

३५ हजार २२१ जना जनप्रतिनिधि छनोेटका लागि मतदान हुने भएको हो। उम्मेदवार भने १ लाख ४५ हजार ९२ जना छन् । निर्वाचन आयोगले उनीहरूलाई मतदान गर्ने मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ जना छन् ।

प्रतिक्रिया दिनुहोस्