ठूला शहरमा घट्दो दलीय आस्था



काठमाडौं । राजनीतिक दलभन्दा बाहिर रहेर स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले स्थानीय तह निर्वाचनमा प्राप्त गर्दै आएको मत परिणामलाई लिएर बहस सुरु भएको छ। स्वतन्त्र उम्मेदवारहरूले स्थापित राजनीतिक शक्ति, सत्ताको पटकपटक नेतृत्व गरिसकेका र व्यवस्थित साङ्गठनिक संरचना भएका दलका उम्मेदवारलाई मत परिणामले चुनौती दिनुलाई असामान्य ठान्नेहरू धेरै छन् ।

हुन पनि मतदाताको मन जितेर दलका उम्मेदवारहरूलाई पछि पार्ने गरीको मत पाउनु सहज छैन। असहज हुँदाहुँदै पनि स्वतन्त्र उम्मेदवारहरूले देशका महŒवपूर्ण महानगरपालिका र उपमहानगरपालिकाहरूमै गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरूलाई कडा टक्कर दिइरहेका छन् । प्रा.डा. लोकराज बराल स्वतन्त्र उम्मेदवारहरूले दिएको चुनौती अर्थपूर्ण रहेको बताउँछन् । उनका अनुसार स्वतन्त्र उम्मेदवारलाई चुनौती दिन सक्ने मत आउनुलाई दलप्रतिको वितृष्णाको रूपमा बझिनुपर्छ । दोस्रो, राजनीतिमा मौलाएको नातावाद र कृपावादविरोधी मतदाताको भावना व्यक्त भएको हो ।

जनताप्रति उत्तरदायी नभए दलीय प्रतिनिधिको विकल्पको खोजी पनि हो । ‘मतदाताहरूको वितृष्णा दलहरूप्रति बढ्दै गएको छ । त्यसले गर्दा स्वतन्त्र उम्मेदवारले केही स्थानीय तह जिते आश्चर्य मान्नुपर्दैन’, बरालले द नेपालटपसँग भने, ‘राजनीतिमा नातावाद मौलाएको छ । अहिले स्वतन्त्र उम्मेदवारले बढी मत पाउनुलाई हामीले नातावाद र कृपावादविरोधी मतदाताको भावना अभिव्यक्त भएको रूपमा लिनुपर्छ ।’

समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवारले गठबन्धन र एमालेका उम्मेदवारलाई काठमाडौं महानगरपालिका, जनकपुर उपमहानरपालिका र धनगढी उपमहानरपालिकामा कडा टक्कर दिइरहेका छन् । काठमाडौंमा टक्कर दिने स्वतन्त्र उम्मेदवार हुन्, बालेन्द्र शाह ‘बालेन’ । उनी देशकै राजधानी काठमाडौंको प्रमुख पदमा शक्तिशाली स्वतन्त्र उम्मेदवार देखिएका छन् । विपक्षी दल नेकपा एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई उनले कडा टक्कर दिँदै आएका छन् ।

मत परिणाम सार्वजनिक भइरहँदा पटकपटक बालेनले अग्रता लिइरहेका छन्। उनी र्‍यापर पनि हुन् । धनगढी उपमहानगरपालिकाको प्रमुखमा पनि गोपाल हमाल शक्तिशाली प्रतिस्पर्धी देखिएका छन् । सार्वजनिक भइरहेको प्रारम्भिक मत परिणामले त्यसको पुष्टि गर्दै आएको छ । उनले गठबन्धनका तर्फबाट कांग्रेसका नृपबहादुर वडलाई पछि पारेका छन् । उनी व्यापारी हुन् । मधेस प्रदेशको राजधानी भएको जनकपुर उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेवदार मनोजकुमार साहको सुरुवातदेखिको अग्रता कायम छ । उनी कांग्रेसका बागी उम्मेदवार हुन् ।

एमाले र गठबन्धनका उम्मेदवारहरूलाई उनले पछि पारेका छन् । केही नगरपालिका र गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारको अग्रता छ । स्वतन्त्र उम्मेदवारलाई यसरी मतदाताले विश्वास गरेर मत दिनुलाई राजनीतिक दलहरूले पाठ सिकाइको रूपमा लिनुपर्ने प्रा.डा. बराल बताउँछन् । ‘निर्वाचनमा उम्मेदवार कस्तालाई उठाउने ? नातावाद र परिवारवाद त्याग्ने कि नत्याग्ने ?’, उनले भने, ‘दलका नेता, कार्यकर्ताहरूको काम गराइ पनि जनता सन्तुष्ट हुनेगरीको छैन । ५ वर्षसम्ममा काठमाडौंका प्रमुखले दिगो रूपमा फोहोर व्यवस्थानको काम गर्न सक्नुभयो ?

अब स्वतन्त्र उम्मेदवारलाई प्राप्त मतलाई दलहरूले सिकाइको रूपमा लिनुपर्छ ।’ स्वतन्त्र उम्मेदवार बनेर निर्वाचनमा टक्कर दिनेमध्ये कोही दलीय राजनीतिप्रति घृणा गर्ने त कोही व्यवसायी भएर समाजसेवामा जोडिएका हुन् । कोही भने दल वा गठबन्धनले बनाएका उम्मेदवारप्रति असन्तुष्टि जनाउने छन् । स्वतन्त्र उम्मेदवारलाई मतदान गर्ने मतदाता कोही स्वतन्त्र त कोहीचाहिँ दलका उम्मेदवार नरुचाउने हुन्। प्रा.डा. सुरेन्द्र केसी दलहरूले पद र प्रतिष्ठालाई पैसामा बेच्ने, गलत पात्रलाई नाता र कृपाका आधारमा उम्मेदवार बनाउने र डनहरूलाई राजनीतिमा प्रवेश गराउनेजस्ता विकृत अभ्यास गर्दा स्वतन्त्र उम्मेदवारहरूलाई मतदाताले रुचाउन थालेका दाबी गर्छन् ।

उनी यसलाई मतदाताहरू परिवर्तनको पक्षमा भएको अर्थमा पनि लिनुपर्ने बताउँछन् । ‘मलाई लाग्थ्यो कि दलहरूले गरेको विकृत अभ्यासको विरुद्धमा मतदाताहरू उभिन अलिक समय लाग्छ । त्यसको प्रतिक्रिया आउन अलिक वर्ष लाग्ला जस्तो लागेको थियो तर यही निर्वाचनमा भयो’, केसीले भने । दलीय राजनीतिमा आबद्ध भएर समाजमा राम्रो प्रभाव छाड्न सफल कतिपय नेताहरू निर्वाचनमा टिकट पाउनबाट बञ्चित हुने गरेका छन् ।

टिकट दिनेहरूले पैसा र पहुँचका आधारमा टिकट दिने गरेका छन् । पार्टीहरूमा मौलाएका यस्ता प्रवृत्तिविरुद्ध विद्रोही बन्दै स्वतन्त्र उम्मेदवार बन्दा मतदाताले राम्रो मत दिएर दलहरूलाई जबाफ दिएको पनि केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्