काउली खेतीले फेरिएको बालुवाफाँटावासीकाे जीवन



कञ्चनपुर : कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका किसान हरिराम चौधरीलाई साँझ खेतमा रोपेको काउली काटने र बिहान बजार लगेर बेच्ने कामबाट फुर्सद छैन। बेच्नका लागि काउली तयार भएपछि उनको व्यस्तता बढेको हो। एक सातादेखि काउली काट्ने र बिहान समय ट्रयाक्टरमा राखेर टाढाको बजारसम्म पुर्‍याएर बेच्ने कार्य निरन्तर रुपमा चल्दै आएको चौधरीले बताए। हरिराम जिल्लाकै काउली उत्पादनमा अब्बल किसानका रुपमा चिनिँदै आएका छन्। 

 

उनी डेढ दशकदेखि काउली खेती गर्दै आएका छन्। पाँच वर्षअघिसम्म थोरै जग्गामा काउली खेती गर्दै आएका उनले हाल दुई बिघा जग्गामा काउली खेती गरेका छन। परिवारले  काउली काट्न नभ्याएपछि उनले चार जना कामदार दैनिक ४०० रुपैयाँ ज्याला दिएर राखेका छन्। उनले दैनिक १५ कुइन्टल काउली कैलालीको अत्तरियामा बेच्दै आएका छन्। काउली थोकमा ४० रुपैयाँमा बिक्री भैरहेको छ। उनले भने, ‘काउलीसँगै लगाएको मुला समेत ३० रुपैयाँमा बिक्री हुन थालेको छ।’ मुला र काउली बेमौसममा लगाइएकाले धेरै मूल्य पाएको छ।  

 

उनले काउली बेचेर वार्षिक पाँच लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्दै आएका छन्। अन्य तरकारीसमेत बिक्री गरेर वार्षिक रुपमा १० लाख रुपैयाँ आम्दानी गरेको उनको भनाइ छ। चौधरी व्यवसायिक रुपमा तारकारी खेती गर्ने कञ्चनपुरकै अग्रज किसान हुन्। उनको सिको गर्दै अहिले गाउँका २०० परिवार तरकारी खेतीमा संलग्न छन्। ‘पहिला खानका लागि मात्रै खेतमा तरकारी खेती हुन्थ्यो,’ स्थानीय किसान पतिराम चौधरीले भने, ‘व्यवसायिक काउली खेती गर्न थालेपछि आम्दानी बढेको छ।’

 

 मुस्किलले जीवन गुजारा गर्ने मात्र खाद्यान्न फल्ने ती खेतमा काउली खेतीबात पाँच लाख र अन्य तरकारी बिक्री गरेरसमेत वार्षिक रुपमा आठ लाख रुपैयाँ आम्दानी हुन थालेको उनको भनाइ छ। उनीहरुले काउली, टमाटर, खुर्सानी खेती गरेर सोचेभन्दा राम्रो आम्दानी गरेका छन्। जसका कारण उनीहरुको आर्थिक अवस्था पनि उकासिएको छ। बालुवाफाँटाका किसानले विगतमा तरकारी बेच्नका लागि टाउकोमा राखेर बजारसम्म पुर्‍याउनु पर्दथ्यो।

 

 तरकारी खेतीको आम्दानीले अहिले प्राय किसानको मोटरसाइकल र ट्रयाक्टर छ। खरले छाएको घरमा बस्ने किसान अहिले पक्की घरमा बस्दै आएका छन्। ‘अन्न फल्ने खेतमा तरकारी खेती गर्न थालेपछि घर चलाउनकै लागि मजदुरी गर्नु पर्ने दिन अन्त्य भएको छ,’ सुकुमराज चौधरीले भने, ‘खेतमा अन्न लगाउदा वर्षभरि खान पुग्दैनथ्यो, मजदुरीमा जानु पर्थ्यो, अब खेतमै काउली खेती गरेर विगतका दुःखका दिन बिर्सिसकेका छौं।’ 

 

 बालुवाफाँटा गाउँबाट मात्रै दैनिक १०० काउली निर्यात हुने गरेको छ। भदौमा बेर्ना राखिएको काउली कात्तिकमा बेच्न तयारी हुने गरेको छ। कात्तिकमा काउलीको पहिलो बाली उठाएपछि पुनः बेर्ना राखेर पुष–माघमा दोस्रो पटक बिक्रीका लागि तयार हुने गरेको छ। भारतीय काउलीभन्दा यस क्षेत्रका काउली सस्तो हुने भएकाले सहज रुपमा खपत हुने गरेको प्रेम चौधरीले बताए। यहाँका किसानले काउली बेचेर वार्षिक पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको भनाइ छ। गाउँका काउली उत्पादनमा लागेका २०० किसानले वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको काउली बिक्री गर्दै आएको वीरबहादुर राजवंशीले बताए।

 

प्रतिक्रिया दिनुहोस्