मत परिणामको ‘साइड इफेक्ट’- कांग्रेसबाहेक सबै दल असन्तुष्ट



काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहँदा गठबन्धनमा रहेका ४ दल नेपाली कांग्रेसप्रति असन्तुष्ट बनेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारको पक्षमा तालमेल भएका स्थानीय तहमा कांग्रेसबाट इमान्दारीपूर्वक मत नआएको भन्दै असन्तुष्ट बनेका हुन् ।

असन्तुष्ट दलका नेताहरूले कांग्रेसलाई ठूलो दल बनाउन तालमेल गरिएको जस्तो भएको भन्दै टिप्पणी गर्न पनि थालेका छन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले कांग्रेसबाट अराजकता प्रदर्शन भएको गम्भीर आरोप लगाए । उनले कांग्रेसलाई ठूलो दल बनाउन मात्र निर्वाचनमा तालमेल नगरिएको बताए।

‘अहिले आइरहेको निर्वाचन परिणामले के देखायो भने जसरी हुन्छ, आफू जित्ने र अरूले हारे हारून् भन्ने पक्षमा कांग्रेस देखियो। यस्तो अराजकता प्रदर्शन कांग्रेसबाट हुने अपेक्षा थिएन’, गजुरेलले द नेपालटपसँग भने, ‘तालमेल कुनै अमूक पार्टीलाई ठूलो बनाउन भएकै थिएन।’

उनले कांग्रेसले गठबन्धन दलबीचको तालमेलको मर्मविपरीत बागी उठाएर मत दिने र विजयी गर्ने काम गरेको पनि बताए। बागी उठाउँदै जिताउनु ‘बेइमान र अराजक’ भएको उनको टिप्पणी छ। ‘जुन पदमा कांग्रेसको उम्मेदवारी परेको छ, उक्त पदमा इमान्दारीपूर्वक मत दिएको देखियो । हामीले पनि इमान्दारपूर्वक दियौं तर कांग्रेसबाट आएको देखिएन । बरु बागी जो उठेका छन्, उसलाई पो भोट दिएर जिताएको पायौं । त्यो त बेइमान र अराजकता होइन र ?’, गजुरेलले भने ।

५ दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा तालमेल भएको हो । नेकपा एमालेको प्रभाव राम्रो भएको स्थानीय तहमा पनि गठबन्धन दलहरूबीच तालमेल भएका छन् । गठबन्धन दलहरू बलियो भएको स्थानीय तहमा भने ‘मित्रवत् प्रतिस्पर्धा’ भन्दै एक्लाएक्लै चुनावी मैदानमा उत्रिए । तर, स्थानीय तहमा कांग्रेसका उम्मेदवार धेरै अघि हुँदा गठबन्धनभित्रकै अन्य दलका उपप्रमुख/उपाध्यक्ष पदका उम्मेदवार निकै पछि छन् । पछि परेका महानगरहरू काठमाडौं, ललितपुर र विराटनर हुन् ।

यी ३ वटै महानगरमा कांग्रेसले प्रमुख पाएको छ । उपप्रमुख भने काठमाडौंमा एकीकृत समाजवादी, ललितपुरमा माओवादी केन्द्र र विराटनगरमा जनता समाजवादीले पाएका छन्। गठबन्धन भए पनि ३ पार्टीकै उपप्रमुख पदका उम्मेदवारलाई प्रमुखको उम्मेदवारभन्दा निकै कम प्राप्त हुँदै आएको छ। जनकपुर उपमहानगरपालिकामा त कांग्रेसकै बागी उम्मेदवार भएका मनोजकुमार साहले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् । गठबन्धनको प्रमुख पदका उम्मेदवार लालकिशोर साह मनोजको प्रतिस्पर्धी बनेका छैनन्। एकीकृत समाजवादीका उपाध्यक्ष घनेन्द्र बस्नेतले कांग्रेसले गठबन्धन दलहरूबीच तालमेलको संयोजन गर्न नसकेको बताए। सोही कारण सोचेजस्तो चुनावी परिणाम आउने सम्भावना नभएको उनी बताउँछन् ।

‘केन्द्रमा कांग्रेसले तालमेलको लागि पहल गर्ने निर्णय भयो । त्यसअनुसार कांग्रेसले तालमेल गर्न पहलसम्म गरेन । पहल नगर्नुमा उसको आफ्नो आन्तरिक कारक पनि होला’, उनले भने, ‘त्यही भएर सोचेजस्तो परिणाम आएन।’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेको राजनीतिक पृष्ठभूमिमा ५ दलीय गठबन्धन गत वर्षको जेठमा बनेको हो। गठबन्धन दलहरूले १७ चैतमा एमालेलाई ‘साइज’मा ल्याउन भन्दै स्थानीय तह निर्वाचनमा तालेमल गर्ने निर्णय गरेका हुन्। निर्णयअनुसार ७५३ स्थानीय तहमध्ये आधा सङ्ख्यामा पनि तालमेल भएन । तालमेल भएका ठाउँमा पनि गठबन्धन गर्नुको सार्थकता पुष्टि हुने परिणाम आउने नदेखिएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले प्रतिक्रिया दिए।

‘गठबन्धन दलहरूबीचको तालमेलले २ वटा सन्देश दिएको छ। पहिलो, प्रतिगमन पक्षधर शक्तिलाई खुम्च्याउन सकिने देखियो र दोस्रो, सिट बढ्ने भए पनि तालमेल ठूला दलको स्वार्थ केन्द्रित हुँदा तालमेलको सार्थकता पुष्टि हुन नसक्ने देखियो’, राईले भने। गठबन्धन दलहरूको घेरा तोड्दै ठाउँठाउँमा एमालेले जित हात पारिरहेको छ। कांग्रेससँग चर्को प्रतिस्पर्धामा देखिएको छ । तर, कतै भने यी २ दलबीचको गठबन्धन छ।

माओवादीको गढ मानिएको रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा र दैलेखलगायत जिल्लामा २ दलीय गठबन्धन छ। अर्घाखाँची, प्युठान र बाग्लुङलगायत जिल्लामा भने गठबन्धनकै दल राष्ट्रिय जनमोर्चाविरुद्ध माओवादी र कांग्रेस पनि उभिएका छन् । जनमोर्चा सचिव हिमलाल पुरीले तालमेल स्वस्थ नभएको बताए । ‘हाम्रैविरुद्ध पनि गठबन्धनका दलहरू उभिएका छन् । यो स्वस्थ होइन’, उनले भने । १४ चैतमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले तल्ला तहको आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सबै स्थानीय तहमा तालमेल नभएको हो ।
कांग्रेस भन्छः धोका होइन
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १–२ स्थानीय तहमा मत कम आयो भन्दैमा कांग्रेसले धोका दिएको रूपमा लिन नहुने स्पष्ट पारेका छन् । भरतपुर, पोखरालगायत महानगरपालिकामा कांग्रेसजनले इमान्दारपूर्वक मतदान गरेकै कारण गठबन्धनको तर्फका प्रमुख पदका उम्मेदवारहरूले एमाले उम्मेदवारहरूलाई घरिघरि पछि पार्ने गरेको उनको तर्क छ।

उनले तालमेलकै कारण एमालेले भन्दा दोब्बर बढी स्थानीय तह गठबन्धन दलहरूले जित्ने प्रारम्भिक चुनावी परिणामले देखाएको बताए ।
एमाले रिसायो 
प्रमुख विपक्षी दल एमालेले कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन सरकारले गरेको निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ । निर्वाचनअन्तर्गत मतदान भएको २ दिनपछि एमाले महासचिव शङ्कर पोखरेलले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित नभई धाँधलीयुक्त भएको आरोप लगाएका हुन् ।

‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो’, पोखरेलले धाँधली भएका १५ वटा आधार विज्ञप्तिमार्फत प्रस्तुत गर्दै भनेका छन्, ‘गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारी खटाएको, आफ्ना मतदातालाई हतोत्साहित गर्न अघिल्लो दिन गिरफ्तार गर्ने र मतदानपछि छाड्ने कार्य गर्‍यो ।’

महासचिव पोखरेलले रुकुमपूर्व र ताप्लेजुङमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या भएको, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, बारा, अछाम, बझाङ, सर्लाही, रौतहटलगायत जिल्लामा बुथ कब्जा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्