चुनाव र सत्ताको माओवादी : सधै एमाले–कांग्रेसकै ‘बैसाखी’



काठमाडौं । ९ वर्ष यता तेस्रो दलको हैसियतमा छ, नेकपा (माओवादी केन्द्र) । पटक–पटक सत्ता समीकरणमा निर्णायक दल मात्र भएको छैन, स्थापित २ पार्टी नेकपा एमाले र नेपाली कांग्रेसलाई ठूलो दलको हैसियतमा पुर्‍याउने ‘बैसाखी’ पनि बनेको छ माओवादी केन्द्र ।

यस पटक माओवादीसहितका ३ दलले कांग्रेसलाई ठूलो दल बनाउँदै छ । २०७४ मा भएको प्रदेश र सङ्घीय निर्वाचनमा एमालेलाई ठूलो दल बनाएको थियो । आलोचकहरूका अनुसार माओवादीको यस्ता गतिविधि ‘सत्ता’ र पार्टी ‘अस्तित्व’ रक्षाको स्वार्थमा केन्द्रित छ। दोस्रो संविधानसभा निर्वाचनपछि माओवादीको आकार खुम्चिँदै गएको हो । एकातिर निरन्तरको पार्टी फुट र अर्कातिर राजनीतिक एजेन्डा संविधानमार्फत स्थापित भए पनि पार्टीले जनतामाझ लोकप्रियता गुमाउँदै जाँदा कमजोर बन्दै गएको पृष्ठभूमिमा माओवादीले २ मध्ये १ दलसँग तालमेल गर्दै आएको हो ।

परिणामतः माओवादीले जुन दलसँग तालमेल गर्‍यो, त्यही दल ठूलो बन्ने गरेको छ । यस पटक एमाले पहिलेको तुलनामा खुम्चिने र कांग्रेस ठूलो दल हुने आँकलन हुन थालेको छ । स्थानीय तहको मत परिणाम सार्वजनिक भइरहँदा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द नेपालटपसँग भनेका छन्, ‘घेराबन्दी, मोर्चाबन्दी, राज्यसत्ताको चरम दुरुपयोग र अनेकौं षड्यन्त्रले यस पटक एमालेको पहिलेभन्दा थोरै कम जित हुनसक्छ ।’ ज्ञवालीले भनेको ‘घेराबन्दी र मोर्चाबन्दी’ खासमा माओवादीप्रति लक्षित छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग पनि ज्ञवालीको अभिव्यक्ति लक्षित छ । किनभने ‘साइज’मा ल्याउने भन्दै एमालेविरुद्ध मोर्चाबन्दी र घेराबन्दी गर्ने योजनाका मुख्य योजनाकार माओवादी अध्यक्ष प्रचण्ड हुन् । उनका सारथी भए, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

यी २ नेता ओली नेतृत्वको एमालेविरुद्ध खडा हुनुमा तत्कालीन नेकपाभित्रको आन्तरिक टकराव र त्यही टकरावले विकसित राजनीतिक घटनाक्रमले अन्ततः पार्टी एकता विघटन हुनुसम्मको कारण जोडिएको छ। र, नेकपाकै आन्तरिक टकरावले विकसित राजनीतिक घटनाको उपघटनाको रूपमा रहेको संसद् विघटनपछि कांग्रेस, जसपा र जनमोर्चासहितको मोर्चाबन्दी बनेको हो। स्थानीय तह निर्वाचनको परिणाम आइरहँदा उपमहासचिव ज्ञवालीले एमालेविरुद्धको घेराबन्दी र मोर्चाबन्दीको विरोध गरेका हुन् ।

ज्ञवालीको अभिव्यक्तिप्रति लक्षित गर्दै माओवादी नेता वर्षमान पुनले सोमबार घुमाउरो पारामा चेतावनीसहितको जवाफ दिएका छन्, ‘माओवादीलाई कसैले हेप्छ भने उ स्वयं पछारिन्छ भन्ने इतिहासले पुष्टि गरेको छ।’ पछिल्ला निर्वाचनहरूको परिणामलाई आधार मान्दा अन्य जिल्लाको तुलनामा माओवादी प्रभाव क्षेत्र रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, दार्चुला, हुम्ला, दैलेख, डोल्पा, कालिकोट, बाग्लुङ, भोजपुर, गोरखा, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लामा देखिएको छ।

अन्य जिल्लामा कांग्रेस र एमालेमध्ये कुनै १ दलसँग तालमेल गर्ने बित्तिकै अर्को दललाई पराजित गर्न सकिनेगरीको मत माओवादीको देखिएको छ । अर्थात् धेरै स्थानीय तहमा माओवादी निर्णायक हैसियतमा पाइएको छ। कांग्रेस, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच तालमेल भएपछि एमालेले झिनो मतले अघिल्लो पटक निर्वाचन जितेको स्थानीय तहमा एमालेलाई पराजित गर्न सहज भएको देखिएको छ।

वाम राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाई सङ्घीय शासन प्रणाली भएको देशमा साना पार्टीले सत्तामा पुग्न र पार्टीको अस्तित्व जोगाउन एकअर्का दलसँग तालमेल गर्ने गरेको बताउँछन् । उनका अनुसार माओवादीसहितका साना दलहरूले कांग्रेससँग तालमेल गर्नुको उद्देश्य त्यही हो । ‘लोकतन्त्रको नियमभित्र १/२ पार्टी मिलेर लड्न सक्छन् । त्यो प्रक्रियामा माओवादी वा कुनै पार्टीले आफ्नो सिद्धान्त, योजना, भिजन, दर्शन बचायो कि बचाएन त्यो अर्को पाटो हो । तर, तालेमल सङ्घीय शासन प्रणाली भएको देशमा तालमेल स्वाभाविक हुन्छ’, डा. प्रसाईले भने, ‘तालमेल सत्ता र पार्टी अस्तित्व जोगाउन हुन्छ र माओवादीलगायत दलले गठबन्धन गर्नु अनौठो होइन ।’

तालमेलले ठूला र साना सबै पार्टीलाई सिट बढाउन सहयोग पुग्ने गरेको प्रसाइको भनाइ छ । माओवादी नेता पुनले पनि २०७४ मा १०६ स्थानीय तहमा जित भएकोमा माओवादीले यस पटक डेढ सय नघाउने दाबी गरेका छन् । उनको दाबी कति तथ्य नजिक छ भन्ने पुष्टि हुन भने सबै स्थानीय तहको परिणाम सार्वजनिक हुनैपर्छ ।
तर, कहिले एमाले त कहिले भने कांग्रेसलाई ठूलो शक्ति बनाउन ‘बैसाखी’ बन्ने गरेको माओवादीले आलोचना खेप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्