शुक्लाफाँटबाट जंगली हात्ती बस्ती छिर्दा स्थानीयको विजोग



 

कञ्चनपुर :   कञ्चनपुरको बेदकोट नगरपालिका १० राना दैजीका तीन जनाको घर जंगली हात्तीको झुण्डले भत्काई दिएको छ । 

 

गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काई भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायको खाद्यान सबै खाइदिएको उनीहरूले बताएका छन् । लुगा, कागजपत्र बाकस, ग्याँस सिलिण्डर, दराज, पंखा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ ।

 

घर नजिक लगाएको तरकारी नष्ट गर्नुका साथै खानेपानीका लागि गाडिएको नल्का समेत हात्तीको झुण्डले उखेलेको छ। राति १२ बजे २० बढीको संख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो। हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित परिवारका सदस्यले भागेर ज्यान जोगाएका छन् ।

 

खेतमा धान छदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्न समेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्