२७३ पालिकामा कांग्रेसको जित, एमाले पछ्याउँदै



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । पछिल्लो तथ्यांकअनुसार देशभरका ५६१ पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

कांग्रेसले २७३ पालिकामा जित हात पारेको छ। परिणाम घोषणा भएकामध्ये ४४ प्रतिशत पालिकामा कांग्रेसले प्रमुख जित हात पारेको छ। त्यस्तै २५० पालिका उपप्रमुख जितेको छ।

२०७४ सालको स्थानीय निर्वाचनमा पहिलो दल बनेको एमाले भने यो निर्वाचनको हालसम्मको परिणाममा दोस्रो स्थानमा खुम्चिएको छ। एमालेले १७१ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १९२ स्थानमा जित हात पारेका छ।

माओवादी केन्द्रले १११ स्थानको प्रमुखमा जित हात पारेको छ। उपप्रमुखमा ११६ स्थानमा जित हात पारेको छ।

चौथो दलको रुपमा जनता समाजवादी पार्टी (जसपा) देखिएको छ। जसपाले प्रमुख पदमा १८ स्थानमा जित हात पारेको छ। त्यस्तै एकीकृत समाजवादीले १४, राप्रपाले ३, लोसपा ७ स्थानमा जित हात पारेका छन्।

नेमकिपाले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले पनि सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जित हासिल गरेको छ। २३ वटामा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

परिणाम आउन बाँकी पालिकामा पनि कांग्रेसकै अग्रता बढी छ। कांग्रेसले ५२ स्थानमा अग्रता कायम गरेको छ। एमालेले २५, माओवादी केन्द्रले १०, जसपाले १७, एकिकृत समाजवादीले ५, लोसपाले ५ स्थानमा अग्रता लिएका छन्।

प्रतिक्रिया दिनुहोस्