खोटाङमा एमालेकाे हैसियत तेस्रो



खोटाङ । नेकपा एमाले खोटाङमा तेस्रो पार्टीमा खुम्चिन पुगेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको संख्याको आधारमा जिल्लामा पहिलो भएको एमाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा तेस्रो पार्टी बन्न पुगेको छ ।

दोस्रो भएको कांग्रेस यसवर्ष पहिलो र तेस्रो भएको माओवादी केन्द्र दोस्रो स्थानमा उक्लिएको छ। २ नगरपालिका, ८ गाउँपालिका र ७९ वडा भएको खोटाङमा २०७४ को चुनावमा एमालेले ५ पालिका प्रमुख, ७ उपप्रमुख र ३६ वडाध्यक्ष जितेको थियो । उसले यसपपटक २ पालिका प्रमुख, २ उपप्रमुख र १९ वडाध्यक्ष जितेको छ।

२०७४ मा ४ प्रमुख, तीन उपप्रमुख र २७ वडाध्यक्ष जितेको कांग्रेसले यसपल्ट ६ प्रमुख, ४ उपप्रमुख र ३२ वडाध्यक्ष जितेको छ। अघिल्लो निर्वाचनमा १ प्रमुख र १३ वडाध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट २ प्रमुख, २ उपप्रमुख र २३ वडाध्यक्ष जित्न सफल भएको छ। २०७४ मा साकेला गाउँपालिका अध्यक्ष जितेको माओवादी केन्द्रले यसपल्ट खोटेहाङ र जन्तेढुंगा प्रमुख, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाँपालिकामा उपप्रमुख जितेको छ ।

भर्खरै उदाएको एकीकृत नेकपा समाजवादीले एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । एकीकृत समाजवादीले बराहपोखरी गाउँपालिकामा उपप्रमुखमा बाजी मारेको हो । जसपाले पनि एक उपप्रमुख र २ वडाध्यक्ष जितेको छ । जसपाले केपिलासगढी गाउँपालिकामा उपप्रमुख जितेको हो ।

अघिल्लो निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा वडाध्यक्ष जितेको राप्रपाले यसपल्ट एक स्थान पनि जित्न सकेन । बरु खोटेहाङ गाउँपालिका–८ सिमपानीमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका चन्द्रबहादुर थापा विजयी भएका छन् ।

गठबन्धनले तुलनात्मकरुपमा माओवादी केन्द्रलाई बढी लाभ भएको अन्य दलको विश्लेषण छ । तर वडाको हकमा भने चार वडा बाहेक अन्य वडा माओवादी केन्द्रको एकल प्रयासले जित प्राप्त गरेको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्