रोहितले छाडे पर्सिजा जाकार्ता, भन्छन्– ‘असल मान्छे बनायो’



काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन्। पर्सिजाले एक भिडियो सन्देश सार्वजनिक गर्दै बिदाई गरेको जनाएको छ। उसले रोहितलाई हिमालय टाइगरको संज्ञा दिएको छ। रोहितले इन्डोनेसियाको यात्रा निकै उत्कृष्ट रहेको बताएका छन्।

‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभई एक असल मानिस पनि बनायो। मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले ममाथि पूर्ण विश्वास र साथ दियो। जाकर्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्‍याउन पाउनु असाधारण अनुभव थियो,’ रोहितले भनेका छन्।

सन् २०१७ मा दोस्रो पटक जाकर्तासँग जोडिएका रोहितले १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन्। यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते। र, सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए।

रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए। रोहितले जाकार्ता बसाईमा सन् २०१८ निकै सफल रहेको र उपाधिसमेत हात पारेको बताए।

‘सन् २०१८ म सधैँ कृतज्ञ रहने वर्षको रुपमा रह्यो। जब हामीले लिग उपाधि जितेका थियौं र म लिगको उत्कृष्ट खेलाडी चुनिएको थिए। यो हामी सबैको संयुक्त प्रयासको नजिता थियो र विशेष गरी जाकमानिया (समर्थक) हरूको, जो विश्वकै उत्कृष्ट समर्थक हुन्।’

‘व्यवस्थापक, क्लब, प्रशिक्षक, टिमका सहकर्मी, खेल अफिसियलहरु र समर्थकबाट पाएको साथ सधैँ मेरो ह्रदयमा रहिरहनेछ। भारी ह्रदयसाथ, मलाई लाग्छ अब क्लबलाई ‘गूडबाई’ भन्ने समय आएको छ। पर्सिजामा मेरो सम्पूर्ण अवधिमा, मैले गर्व र सम्मानसाथ क्लबको प्रतिष्ठालाई बोकेको छु। पर्सिजाको लागि खेल्नु मेरो लागि सम्मानको कुरा थियो र आशा छ हामी कुनै दिन फेरी सँगै यात्रा गर्नेछौं,’ हाल राष्ट्रिय टोली बाहिर रहेका रोहितले भनेका छन्।

पर्सिजाको बसाइ सकाएसँगै हाल रोहित नेपालमै छन्। उनी इन्डोनेसियाको लिग वान नै खेल्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्