सम्पर्कविहीन विमानको खोजी तीव्र बनाउन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका हुन्।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन बनेको थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरी आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिए। जहाजको खोजी कार्यका लागि फिस्टेल एअरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए।

काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए। सम्पर्कविहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्य गरी २२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्