बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुग्यो



बाँके : यस आर्थिक वर्षमा २०७६–७७ मा बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या २१ पुगेको छ। चार वर्षअघि २०७१ सालमा बाघको संख्या चार वटा मात्र रहेको थियो। 

वन्यजन्तु संरक्षण मञ्चका पूर्वमहानिर्देशक श्याम वजिमयले कार्यक्रममा नेपालमा पहिले १९८ वटा बाघको संख्या रहेको थियो अहिले बाघको संख्या बढेर २३५ बाघ नेपालमा भएको बताए।

वि.सं २०६७ मा स्थापना भएको निकुञ्जमा पर्यटक स्वदेशी तथा विदेशी गरी गत आव २०७५–७६ मा १०० जनाले अवलोकन गरेको बाँके राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत विष्णुप्रसाद थपलियाले बताए। 

बाँके निकुञ्जमा वन्यजन्तुको चोरी शिकारी तथा अपराध अवैध व्यापारका ५४ वटा मुद्दा छन् ३७ वटा अदालतमा मुद्दा परेका छन् भने १७ वटा निकुञ्जको कार्यालयमा दर्ता भएका छन्। चोरी शिकारी गरेको आरोपमा ३३८ जना पक्राउ परेको उनले बताए।

गत आव २०७५–७६ मा ३४ वटा मुद्दामध्ये १४ वटा मुद्दा जिल्ला अदालतमा र २० वटा मुद्दा वन कार्यालयमा दर्ता भएका छन्। वन कार्यालयबाट १२७ जना पक्राउ परेका छन्।

अधिकांश मुद्दा सुकुटीको व्यापार र जडीबुटीको व्यापार भएको कर्णाली प्रदेशको प्रवेशद्वारा हुम्लाबाट अवैधरुपमा व्यापार वन्यजन्तुको सुरक्षाको लागि संरक्षण चिन्ता बढेको सहायक संरक्षण अधिकृत थपलियाले बताए।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५–७६ मा वन्यजन्तु सडक दुर्घटनामा ७२ वटा मारेका थिए भने अघिल्लो आव २०७४–७५ मा ४५ वटा वन्यजन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थपलियाले बताए।

पूर्व–पश्चिम राजमार्गको ७२ किलोमिटर क्षेत्र बाँके राष्ट्रिय निकुञ्जभित्र पर्दछ भने रत्न राजमार्गमा ३० किलोमिटर निकुञ्जको क्षेत्रफल जोडिएको छ। वन्यजन्तु संरक्षण गर्ने क्रममा निकुञ्जले आव २०७४–७५ मा ११ वटा र गत आव २०७५–७६ मा ४३१ वटा वन्यजन्तुको उद्धार गरेको छ।

आव २०७४–७५ मा निकुञ्जका वन्यजन्तुबाट क्षति भएका ३०५ घरधुरीमध्ये १४ लाख २८ हजार ७२ पीडितलाई राहत वितरण गरेको निकुञ्जले जनाएको छ भने गत आवमा ४१८ घरधुरीका परिवारलाई ६० लाख ९३ हजार ४२ राहत वितरण गरेको थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्