आइजीपी बढुवाविरुद्धको मुद्दामा सुनुवाइ स्थगित



काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) विवाद सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा न्यायाधीशद्वय विश्वभरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा पेसी रहेको मुद्दा लगाउमा पेसी चढेको थियो।

डीआईजीहरु इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले २०७८ चैतमा निवेदन दर्ता गरेका थिए। उनीहरुको र आईजीपी बढुवामा नपरेका विश्वराज पोखरेलले दायर गरेको रिट सँगै राखिएको थियो। पोखरेलले गत वैशाख १९ गते रिट दायर गरेका थिए। आफू पहिलो नम्बरमा भएकाले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने सरकारको निर्णय बदर हुनुपर्ने उनले जिकिर गरेका थिए।

उनको रिटको पहिलो सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सर्वोच्चले मंगलबारदेखि अन्तिम सुनुवाइ हुने तोकेको थियो। तर, अदालतले तीन डीआईजीहरुको हकमा म्याद नै तामेली नभएको भन्दै मुद्दाको सुनुवाइ सारेको छ।

अब अर्को सुनुवाइ नियमित पेसी चढ्दै हुनेछ। गत वैशाख १८ गते सरकारले सिंहलाई आईजीपी बनाउने निर्णय गरेपछि एआईजी पोखरेलले रिट दायर गरेका हुन्। आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ।

प्रतिक्रिया दिनुहोस्