‘पल शाहलाई रिहा गर’ भन्दै माइतीघरमा प्रदर्शन



काठमाडौं । बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो।

माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन जस्ता नारा लगाएका थिए। प्रदर्शनकारीहरूले पललाई फसाउन खोज्ने गिरोह सक्रिय भएको भन्दै उनलाई तत्काल रिहाई गर्न माग गरे।

बलात्कारको आरोप लगाउने किशोरीले नै आफुमाथि बलात्कार नभएको बकपत्र अदालतमा दिएकी थिइन्। तर, उच्च अदालतले उनलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। उक्त आदेशपछि उनका शुभचिन्तकहरू आक्रोशित भएका हुन्।

गायिकासमेत रहेकी ति नाबालिग किशोरीले पलमाथि बलात्कार आरोप लगाउँदै नवलपुर र तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि छानविन गर्दै प्रहरीले अदालतमा पेस गरेको थियो। अदालतमा भएको थुनछेक बहसपछि हिरासतमा राख्दै थप अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो।

उक्त आदेशको विरुद्धमा पल उच्च अदालत पुगेका थिए। उनले हिरासत बाहिरै बसेर मुद्दा लड्न दिन माग गरेका थिए। तर, उच्च अदालतले थुनामुक्त गर्न अस्वीकार गर्दै मुद्दाको चाँडो किनारा लगाउन र त्यतिबेलासम्म हिरासतमै राख्न आदेश दिएको थियो।

पलको रिहाई लागि भन्दै उनका समर्थकहरूले शनिवारदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। बलात्कारको आरोप लगाउने युवतीलाई अरूले प्रयोग गरेर उनलाई फसाउन खोजेको उनीहरूको आरोप छ।

प्रतिक्रिया दिनुहोस्