रोल्पा जिल्ला कारागारमा मृत्यु भएको घटनाको आयोगद्वारा अनुसन्धान सुरु



काठमाडौं । बाँके, २ नेपालगञ्जका सुन्दर हरिजन रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगीरहेको अवस्थामा मिति २०७९ जेठ ४ गते मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले मिति २०७९ जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान सुरु गरेको हो ।

उक्त घटनालाई आयोगले गम्भीररूपमा लिई गत जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकार लगायत सम्बद्ध नियकाबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको थियो । मोवाइल चोरीको आरोपमा नावालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रेहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ । 

यस प्रकारको गम्भीर प्रकृतिको घटनालाई संवेदनशीलरूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगले अनुसन्धान सुरु गरेको जनाएको छ ।  आगामी दिनमा यस प्रकारका घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोग नेपाल सरकार र सम्बद्ध निकायको आयोगले ध्यानाकर्षण समेत गराएको छ ।   

प्रतिक्रिया दिनुहोस्