मोटरसाइकलको ठक्करबाट राप्रपाका नेता श्रेष्ठसहित २ गम्भीर घाइते 



खोटाङ । मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। प्रदेश १– ०५– ००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएका हुन्। 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको मोटरसाइकलले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो। श्रेष्ठ आफ्नो परिवारसहित सपिङ कम्प्लेक्स नजिकै बस्दैआएका छन्। 

स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ। श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो। फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलिकोप्टरमार्फत न्युरो अस्पताल बाँसबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले बताए। उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन्।

उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए। राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक छ। 

मोटरसाइकल दुर्घटनामा सवार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङकी ४८ वर्षीय विष्णुकुमारी राई पनि घाइते भएकी छन्। हेलिकोप्टरबाट श्रेष्ठसँगै काठमाडौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ। मोटरसाइकल चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते विष्णुकुमारी र अभिषेक आमाछोरा हुन्।

 

प्रतिक्रिया दिनुहोस्