अछाममा किशोरको शव भेटिएपछि प्रदर्शन, अश्रुग्यास र हवाई फायर



अछाम । अछाममा जेठ १७ गतेदेखि वेपत्ता भएका एक किशोरको शव फेला परेपछि स्थानीयहरुले प्रदर्शन गरेका छन् । पञ्चदेवल विनायक नगरपालिका -४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

पञ्चदेवल विनायक नगरपालिका(४ स्थित घर नजिकै शाही मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनाव भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले स्थानीयको अवरोधका कारण तनाव सिर्जना भएपछि अश्रुग्यास प्रहार र हवाई फायर गरिएको बताएका छन् ।

उनकाअनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाइ फायर र ३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । तर आक्रोशित स्थानीयले प्रहरी प्रशासनविरूद्व नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । उनकाअनुसार अहिले छिमेकी जिल्ला डोटीबाट थप सुरक्षाकर्मी मगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्