अमेरिकामा दुई वर्षका बालकले खेलौना सम्झेर बन्दुकको ट्रिगर दबाउँदा बुबाको मृत्यु



एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्लेण्डो सहर नजिकको एक घरमा दुई वर्षका बालकले गोली भरिएको बन्दुक खेलाउँदा उनका २६ वर्षीय पिताको मृत्यु भएको छ ।

भुइँमा रहेको झोलामा बन्दुक भेटेका ती अवोध बालकले खेलौना सम्झेर ट्रिगर दबाउँदा गम्भीर घाइते भएका उनका बाबु रेग्गी म्याब्रेको उपचारका लागि स्थानीय अस्पताल पु¥याएलगत्तै मृत्यु भएको अरेञ्ज काउण्टीका अधिकारीले पत्रकार सम्मेलनमा बताए । उनका छोराले ग्लोक १९ नामक बन्दुकले आफ्ना पितामाथि गोली चलाएको अमेरिकी अखबार न्युयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

अधिकारीहरुले सुरुमा रेग्गीले आत्महत्या गरेको आशङ्का गरेका थिए । यद्यपि पछि मृतकका जेठा छोराले अनुसन्धान अधिकारीहरूलाई आफ्ना दुई वर्षीय भाइले बन्दुकको ट्रिगर दबाउँदा कम्प्युटरमा भिडियो गेम खेलिरहेका बाबाको ढाडमा गोली लागेको बयान दिएका थिए । घटनाको समयमा पाँच महिनाकी बालिकासहित परिवारका पाँच सदस्य एउटै कोठामा रहेको बताइएको छ ।

पछिल्ला केही समययता अमेरिकामा विभिन्न गोलीकाण्डका घटनाबारे समाचार सार्वजनिक भइरहेका बेला अबोध बालकले बन्दुकलाई खेलौना सम्झेर आफ्नै पितामाथि गोली चलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्