छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु



काठमाडौं । सुनसरी, बारा, सप्तरी, महोत्तरी र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

सुनसरीको दुहवी नगरपालिका–५ बुढीपुलस्थित सडकमा यूपी ५७ एटी ३८३७ नम्बरको ट्रकले को।२८ प ८५४४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार इटहरी उपमहानगरपालिका–२० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित सडकमा ना.१ ज ७७६६ नम्बरको म्याजिकले ना.५३ प ९१३४ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–२ छपकैया बस्ने ३६ वर्षीय सदाम हुसेन ठकुराइ रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनको वयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।

सप्तरीको कंचनरुप नगरपालिका–१० बदगामास्थित सडकमा ना.२ ख ९२१० नम्बरको ट्रकको ठक्करबाट १ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा साईकलयात्री सोही नगरपालिका–३ बरमझियाको तत्मा टोल बस्ने ३० वर्षीय चन्देश्वर दास रहेका छन्। उनको बिहीबार साँझ मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एमडिएस अस्पताल रुपनगर हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा थप उपचारको क्रममा मृत्यु भएको हो।

महोत्तरीको बर्दिवास नगरपालिका–३ कारेभोगटे पुलमा ना.५४ प ८९५४ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्य कुमार मिस्त्री रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका–३ बस्ने २५ वर्षीय निरज मिस्त्रीको सोही अस्पतालमा उपचार भइरहेको छ।

चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोलास्थित सडकमा बा.५ ख ७८४३ नम्बरको बसको ठक्करबाट सोही बसका सहचालक सुनसरी झुम्का बस्ने २३ वर्षीय जनक दाहालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्