निगमको घाटा ४७ अर्ब पुग्यो



काठमाडौं । सरकारको दबाबमा पेट्रोलियम पदार्थको मूल्य घटाएको नेपाल आयल निगमले साताभित्रै फेरि मूल्य बढाएको छ । सरकारको दबाबमा गत साता १९ जेठमा निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ घटाएको थियो ।

तर, निरन्तर घाटा बेहोर्दै आएको निगमले घाटा थेग्न नसक्ने अवस्था आएपछि सातामै फेरि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँ बढाएको छ। अघिल्लो साता निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र निगमको घाटा उच्च भएको भन्दै ८ जेठमा प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढाएको थियो। निगमले पेट्रोलियम पदार्थमा एकै पटक प्रलिलिटर १० रुपैयाँ बढाउँदा बजार दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा सर्वसाधारण मर्कामा परेका भन्दै विभिन्न विद्यार्थी सङ्गठनलगायतले सरकारमाथि चर्काे दबाब दिँदा निगमले मूल्य घटाउन बाध्य भएको थियो।

अत्यधिक वृद्धि भएको मूल्य कम गर्न सरकारले पेट्रोलियम पदार्थबाट लिइँदै आएको पूर्वाधार कर घटाउने निर्णयसमेत गरेको थियो । १३ जेठमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले सर्वसाधारणलाई पर्न गएको असरलाई ध्यानमा राख्दै सरकारले लिने पेट्रोलियम पदार्थको करको दररेट समायोजन गरी मूल्य घटाउने निर्णय गरेको थियो।

आफैँले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गरी घाटाले थलिएको निगमलाई दबाबमा मूल्य घटाउन लगाएपछि निगम थप घाटामा जाने भएपछि निगमले आफूलाई बचाउन उपभोक्ताको टाउकोमा महँगीको भार थप्दै बिहीबारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको निगमका एक अधिकारीले बताए।

निगमले बिहीबार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ बढाएर १७८ रुपैयाँ पुर्‍याएको छ भने डिजेल र मट्टीतेलमा १२ रुपैयाँ बढाएर १६५ रुपैयाँ पुर्‍याएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको कच्चा तेलको मूल्यका कारण इन्धनको कारोबार गर्दा ठूलो घाटा बेहोर्नुपरेको निगमको भनाइ छ। यसैगरी सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर उठाउने भएका कारण पनि पेट्रोलियम पदार्थमा थप घाटा बेहोर्नुपरेको निगमले बताउँदै आएको छ।

पेट्रोलियम पदार्थमा लिइँदै आएको करका दर घटाउन सरकार समक्ष निगमले मागसमेत गरेको थियो। सरकारले निगमलाई कर घटाउने आश्वासन त दियो तर घटाएन। सरकारले पेट्रोलियम पदार्थको कर नघटाउँदा निगमलाई आर्थिक सङ्कट परेको निगमका एक अधिकारीले बताए। निगमको घाटा निरन्तर बढ्दै जाँदा इण्डियन आयल कर्पाेरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न गएको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए।

सहप्रवक्ता कार्कीका अनुसार १ असार आईओसीलाई तिर्नुपर्ने निगमको ३८ अर्ब बक्यौता पुग्नेछ । आईओसीलाई ३८ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्नेमा निगमसँग हाल १२ अर्ब रुपैयाँ मात्र दिन सक्ने अवस्था रहेको सहप्रवक्ता कार्कीले जानकारी दिए । १२ अर्ब रुपैयाँ भुक्तानी गर्दा २६ अर्ब रुपैपाँ बक्यौता बाँकी नै हुने उनले बताए । निगमका अनुसार आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई करिब ४७ अर्ब रुपैयाँ भएको छ । असार मसान्तसम्म करिब ६० अर्ब रुपैयाँ पुग्ने निगमको अनुमान छ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७० पैसा र डिजेलमा १८ रुपैयाँ घाटा छ । यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ घाटा छ । मट्टीतेल र हवाई इन्धनमा प्रतिलिटर १७ रुपैयाँ नाफा रहेको पनि निगमले प्रस्ट पारेको छ । यसरी सबै इन्धनको मूल्य समायोजन गर्दा आगामी १५ दिनमा ३ अर्ब १ करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।

यसअघि बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर ८ र डिजेल तथा मट्टीतेल १२ रुपैयाँले बढाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल १६५ रुपैयाँ छ। यसैगरी निगमले पेट्रोलियम पदार्थको खपत कम गर्न र स्वदेशी ऊर्जाको खपत बढाउन पनि निगमले आग्रह गरेको छ ।
सार्वजनिक यातायातको भाडा फेरि बढ्यो
सरकारले फेरी सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रालियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै यातायाता विभागले ३ दशमलब ७ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित प्रणालीमा सार्वजनिक यातायातको भाडा वृद्धि गरेको विभागले जनाएको छ । यसअघि विभगाले २० जेठमा सार्वजनिक यातायातको भाडा बढाइएको थियो । पेट्रोलियम पदार्थको ५ प्रतिशतभन्दा धेरै मूल्य थपघट भएमा अन्तरप्रदेश यात्रुबाहक र मालबाहक यातायातको भाडा सोहीअनुसार समायोजन गर्न लागेको विभागले जनाएको छ ।

विभागले यात्रुबाहक सवारी साधनको भाडा २ दशमलब ५ प्रतिशतले वृद्धि गरेको छ । यसैगरी पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३ दशमलब ३ र तराईमा चल्ने मालबाहक सवारीको भाडा ३ दशमलब ७ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्