अबको निर्वाचनमा पनि गठबन्धन आवश्यक : उपसभापति खड्का



भक्तपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक रहेको बताएका छन ।

आज भक्तपुरमा आयोजित शहीद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठानको दशौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेस एक्लैले पनि दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न सक्ने अवस्था छैन त्यसैले अबको निर्वाचनमा दुई तिहाइका लागि पनि गठबन्धन आवश्यक भएको बताएका हुन् ।

उपसभापति खड्काले प्रधानमन्त्री देउवाको सबल र दृढ नेतृत्वका कारण कांग्रेसले सफलता हाँसिल गरेको बताए ।

“नेपाली कांग्रेसको उद्देश्य प्राप्तिका लागि, कांग्रेसको सङ्कल्प पूरा गर्न, कांग्रेसलाई ठूलो पार्टी बनाउन र गठबन्धनसहित दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने अहिलेको मिसनको नेतृत्व पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले गर्नुभएको छ”, पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने । कुनै पनि एउटा पार्टीले मात्रै अब दुई तिहाइ ल्याउन सक्ने अवस्था नरहेको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्