स्नातक र स्नातकोत्तर तहमा नेपालीमा पनि प्रश्न सोध्न त्रिविलाई दबाब



काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ ।

नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ । त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका प्रश्न र जिज्ञासा अधिकांश परीक्षासँग सम्बन्धित छन् । ‘हेलो सरकार’का गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पढाएर सम्बोधन भए पनि भने विद्यार्थीको गुनासा भने सम्बोधन भएका छैनन् ।

‘त्रिविअन्तर्गतका स्नातक र स्नातकोत्तर तहमा नेपाली माध्यममा उत्तर लेख्न पाइने भन्ने निर्णय स्वागतयोग्य छ । तथापि, उत्तर नै लेख्न पाउने भएपछि प्रश्नपत्र पनि अंग्रेजी र नेपाली दुवै माध्यममा हुनुपर्ने होइन र ?’, डिल्ली कट्टेलले ट्विटरमार्फत ३१ साउनमा गुनासो लेखेका छन्, ‘मेरो प्राध्यापनको अनुभवबाट पनि यो टड्कारो समस्या हो, किनकि प्रश्न नबुझेकै कारण उत्तर लेख्न नसकेको प्रस्ट अनुभव परीक्षा हलमा निरीक्षक बस्दा पनि हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’

त्रिविका नोदनाथ त्रितालका अनुसार तीन महिनामा परीक्षा र भाषा माध्यममा धेरै गुनासो आएका छन् । अधिकांशले ‘त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षामा नेपाली र अंग्रेजी माध्यमबाट लेख पनि पाउने, तर प्रश्नचाहिँ किन अंग्रेजीमा मात्ररु’ भन्ने प्रश्न गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्