लमजुङ प्रहरीद्वारा नगदसहित ७ जुवाडे पक्राउ



लमजुङ । लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ। प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बेँसीशहर–७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा–तास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका ३ जना, मर्स्याङ्दी गाउँपालिकाका २ जना, दोर्दी गाउँपालिकाको १ जना र नवलपरासी जिल्लाका १ जना रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए। उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ।

लमजुङ प्रहरीले चालु आव २०७८–०७९ मा जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार २ सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्