देवघाटमा तीनमुखे पुल बन्ने



काठमाडौं । सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । संघीय सरकारको ६५ करोड रुपैयाँ लगानीमा निर्माण हुने पुलको डीपीआर तयार भइसकेको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीका अनुसार पूर्वी नवलपरासी, तनहु र चितवनको संगमस्थल देवघाटमा हाल रहेको झोलुंगे पुल जीर्ण भइसकेको र त्यसको सट्टामा नयाँ संरचनाको पुल निर्माणका लागि काम सुरु भएको हो ।

तीनमुखे पुल मान्छे मात्र हिँड्न मिल्ने गरी बनाइने बताइएको छ । मान्छे हिँड्ने स्थानमा सिसैसिसा हुने भएकाले विशेष आर्कषण हुने उनको दाबी छ । एउटा खम्बा हुने छ र त्यो खम्बाको माथि मन्दिर बनाइने उनले बताए । संघीय सरकारको बजेटबाट निर्माण हुने यो पुल नेपालमै नमूना हुने अधिकारीले बताए ।

त्यसैगरी देवघाटमा स्नानघाट समेत निर्माण गर्न डीपीआर तयार भइसकेको छ । २१ करोडको लागतमा निर्माण हुने स्नानघाटका लागि यो वर्ष ६ करोड विनियोजन भएको अधिकारीले जानकारी दिए । यो बजेट क्रमागत बजेटमा परेको अधिकारीले जानकारी दिए । तीनमुखे पुल नेपालमै नयाँ र फरक हुने अधिकारीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्