गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी कालिज हुर्काउने ड्युटीमा



जुम्ला । तातोपानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष गंगादेवी उपाध्याय कालिजपालनमा लागेकी छन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरेपछि उनी कालिजपालनमा लागेकी हुन्।

गौतम पशुपंक्षी पालन फार्ममार्फत उनले कालिज पालन गरेकी हुन्। उनी भन्छिन, ‘५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरेकी छु। हामीले कालिज मात्र पालेका छैनौँ , कालिजका चल्लासमेत उत्पादन गरेका छौँ।’

गत १५ माघबाट सूरु गरेको कालिज पालन व्यवसाय अहिले १५ सय बढी चल्ला उत्पादन भइसकेका छन्। पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन, ‘जुम्लामा कालिजपालनको राम्रो सम्भावना छ।’ उनका श्रीमान लक्ष्मीप्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालिएको हो।

‘१५ सय चल्ला उत्पादन भइसकेका छन्। केही दिनमा ५०० बढी उत्पादन हुने तयारी छ’ उनले भने, ‘यहाँ उत्पादन भएका कालिजका चल्ला १ जोडाको ५ सयदेखि १ हजार दुईसम्म पर्ने गरेको छ।

बत्ती नहुँदा व्यवसायमा समस्या भएको बताएकी गंगादेवी जेनेरेटर चलाउनु पर्ने बाध्य रहेको जानकारी दिइन्। उनले कालिजसँगै कुखुरा र हाँस पनि पालेकी छन्। ‘५० लाखको लगानी गरेर कालिजपालन गरेकी हुँ। कालिजपालनसँगै कुखुरा र हाँस पनि पालेकी छु’ गंगादेवीले भनिन्।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले उपाध्यायको कालिज फर्मको अनुगमन गरेका छन्। उनले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने व्यवसाय यो पहिलो भएको बताए। उनले कालिज उत्पादनलाई जुम्लाको ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्ने बताए। यसका लागि आवश्यक पर्ने बजारीकरण र औषधि लगायतमा कार्यालयको सहयोग रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्