सरकारी निकायले जानकी मन्दिरलाई कमाई खाने भाँडो बनाए : रामतपेश्वर



जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले प्रदेश सरकार र सरकारी निकायहरुले जानकी मन्दिरलाई कमाई खाने भाँडो बनाएको गुनासो गरेका छन् । उनले जानकी मन्दिरमै पत्रकार सम्मेलनको आयोजना गरेर सरकारी निकाय नै मन्दिरको नाममा अनियमितता गर्नमा लिप्त रहेको गुनासो गरेका हुन् ।

मधेश सरकारको मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरिएको मन्दिर सौन्दर्यीकरण र वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले मन्दिरमा गरेको विद्युतिकरणको नाममा भ्रष्टाचार गरेको मन्दिरका महन्थ दासले आरोप लगाएका हुन् । मन्दिर सौन्दर्यीकरणमा मेधश सरकारले टाइल्स मार्वल लगाउनुका साथै मर्मत लगायतको सौन्दर्यीकरणकालागि ७ करोड २० लाख छुट्याएको थियो ।

मन्दिर सौन्दर्यीकरणको काम अहिले अन्तिम चरणमा छ । महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स मार्वल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरिएको भन्दै भ्रष्टाचार भएको आरोप लगाए ।

त्यस्तै गत आर्थिक वर्षमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो । सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ । ‘जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन । वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीले भने अनुसार एक डेढ महिनामै सबै खराब भइसकेको छ । बल्ने लायक छैन ।

पटक पटक ठीक गर्न आग्रह गर्दा वृहत्तरको मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको छ ।’ महन्थ दासले भने,‘मधेश सरकारले गरेको काम पनि त्यस्तै कमसल छ ।’ जानकी मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी विभिन्न निकाय आएर सरकारी रकमको दुरुपयोग गरिरहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्