जानकी मन्दिरमा भ्रष्टाचार



जनकपुरधाम । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले प्रदेश सरकार र सरकारी निकायहरूले जानकी मन्दिरलाई कमाई खाने भाँडो बनाएको गुनासो गरेका छन् । उनले जानकी मन्दिरमै पत्रकार सम्मेलनको आयोजना गरेर सरकारी निकाय नै मन्दिरको नाममा अनियमितता गर्नमा लिप्त रहेको गुनासो गरेका हुन् ।

मधेस सरकारको मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत गरिएको मन्दिर सौन्दर्यीकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले मन्दिरमा गरेको विद्युतीकरणको नाममा भ्रष्टाचार गरेको मन्दिरका महन्थ दासले आरोप लगाएका हुन् । मन्दिर सौन्दर्यीकरणमा मधेस सरकारले टाइल्स, मार्बल लगाउनुका साथै मर्मतलगायतको सौन्दर्यीकरणका लागि ७ करोड २० लाख रुपैयाँ छुट्याएको थियो । मन्दिर सौन्दर्यीकरणको काम अहिले अन्तिम चरणमा छ ।

महन्थ दासले प्रदेश सरकारबाट जडान भएको टाइल्स, मार्बल थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम जारी रहेको बताउँदै कमसल सामग्री प्रयोग गरिएको भन्दै भ्रष्टाचार भएको आरोप लगाए । त्यस्तै, गत आर्थिक वर्षमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो । सो लाइट २ महिना पनि नबलेको महन्थ दासको गुनासो छ ।

‘जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन । बृहत्तरले ११ करोडमा जडान गरेको बिजुली लाइट मिस्त्रीले भनेअनुसार एक-डेढ महिनामै सबै खराब भइसकेको छ । बल्नलायक छैन’, उनले भने । पटकपटक ठीक गर्न आग्रह गर्दा बृहत्तरको मिस्त्री नआएको बहाना लगाएर पन्छिरहेको उनको गुनासो छ । महन्थ दासले भने, ‘मधेस सरकारले गरेको काम पनि त्यस्तै कमसल छ ।’

जानकी मन्दिरसँग कुनै समन्वय र छलफल नै नगरी विभिन्न निकाय आएर सरकारी रकमको दुरूपयोग गरिरहेका उनले आरोप लगाए । ‘कुनै काम गर्न आउँदा हामीसँग छलफल गर्दैनन्, के गर्ने, कसो गर्ने, मनपरी मन्दिरको पुरातात्वमा असर पर्ने गरी कमसल काम गर्छन्’, उनले गुनासो गर्दै भने, ‘म ती निकायहरूसँग आग्रह गर्छु, जे काम गर्नु छ, हामीसँग पनि छलफल गरेर राम्रो काम गर्नुहोस् । मेरो आग्रह छ, जानकी मन्दिरमा सौन्दर्यीकरणको नाममा भ्रष्टाचार नगर्नुहोस् ।’

छानबिनको प्रतिवेदन नै आएन

जानकी मन्दिरमा विद्युतीकरण गर्न बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले अनियमितता गरेको आरोप लागेपछि मधेस प्रदेश सरकारले छानबिन गर्ने जनाएको थियो । मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएपछि जानकी मन्दिरमा गरिएको विद्युतीकरणको छानबिन गरिने भनिएको थियो ।

तर, प्रदेश सरकारले छानबिन गर्न भनेको महिनौँ बितिसक्दासमेत त्यसको कुनै अत्तोपत्तो छैन । यस विषयमा प्रमुख सचिव कृष्णबहादुर राउत भने अनभिज्ञता प्रकट गर्छन् । सङ्घीय सरकार मातहत रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले जानकी मन्दिरमा विद्युतीकरण गर्न ११ करोड ७७ लाख ३२ हजार ३५५ रुपैयाँको टेन्डर स्वीकृत गरेको थियो ।

अनियमितताको आरोप लागेपछि बृहत्तरका कार्यकारी निर्देशक बलराम ठाकुर र लेखापाल सावित्री गिरीले संयुक्त विज्ञप्ति जारी गरेर मन्दिर परिसरमा १६ थान सोलार बत्ती जडान गरिएको दाबी गरेका थिए । तर, बृहत्तरले जडान गरेको सोलार केही महिनामै बल्न छाडेको स्थानीयको आरोप छ ।

यसैगरी बृहत्तरले साढे ४०० चिम जानकी मन्दिरमा जडान भएको दाबी गरेको छ । त्यसका अतिरिक्त ७४ थान विभिन्न किसिमका स्पिकरलगायत दर्जनौँ काम गरिएको दाबी बृहत्तरको छ ।

अनुमतिबिनै विद्युतीकरण

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पुरातात्व विभाग लामो समयदेखि प्रयासरत रहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जानकी मन्दिरको मौलिक ढाँचामा कुनै प्रकारको परिवर्तन नगर्न पुरातात्व विभागले पटकपटक सचेतसमेत गराउँदै आइरहेको छ ।

त्यसैले गैरआवासीय नेपालीहरूको संस्था (एनआरएन)ले पनि जानकी मन्दिरमा विद्युतीकरण गर्ने प्रस्ताव गरेको थियो । तर, मौलिक संरचनामा असर पर्दा विश्व सम्पदामा सूचीकृत गर्न समस्या हुने भन्दै जानकी मन्दिरले अनुमति दिएको थिएन ।

तर, बृहत्तरले जानकी मन्दिरसँग अनुमति नै नलिई विद्युतीकरण गरेको छ । बृहत्तरले आफूखुसी प्रदेश सरकारबाट बजेट माग गरेर मन्दिर परिसरमा विद्युतीकरण गर्ने काम गरेको मन्दिरका महन्थ दास बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्