आज देखि शनिबार मात्रै सार्वजनिक बिदा



काठमाडौं । आज देखि शनिबार मात्रै सार्वजनिक बिदा हुने भएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको हो ।

सम्भावित आर्थिक संकटको जोखिम रोक्न खर्च कटौती गर्ने उद्देश्यले सरकारले जेठ १ गतेदेखि परीक्षणका लागि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

जेठको मध्यतीर लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार यो निर्णयलाई असार १ गतेदेखि खारेज गर्ने प्रस्ताव भएको थियो। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो ।

यसअघि सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने तथा विहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो । अब कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।

नेपालमा यसअघि प्रशासन सुधार आयोगको प्रस्तावअनुसार २०५६ सालमा सातामा दुई दिन बिदा दिइए पनि केही समयमै बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्