इतिहास बोकेका क्लबलाई हतोत्साहित बनाउने प्रयास



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग (एनएसएल)फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ । एन्फाले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट(एनएसइएम)लाई लिग आयोजना गर्न स्वीकृति दिएको हो ।
नेपालमा ए डिभिजन क्लब र एनएसएल आयोजक बिचको विवाद जारी रहँदा गरिएको यो निर्णयलाई अर्थपूर्ण मानिएको छ । नेपालमा ए डिभिजन क्लबको ८८ वर्षे इतिहासलाई समेत बेवास्ता गर्दै यो निर्णय भएको हो ।
‘क्लब फुटबलको चलेको प्रचलन तथा विश्व फुटबलको स्थापित मान्यतालाई बेवास्ता गर्दै एन्फाले फुटबललाई खराब बाटोमा लगेको छ, ’ थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले भनेका छन् ।
पिरामिड शैलीको फुटबल संरचनामा सी डिभिजन छनोट हुँदै ए डिभिजनमा प्रवेश गर्ने बाटो खुला रहन्छ । ए डिभिजनको च्याम्पियनले एएफसीका प्रतियोगिता खेल्ने प्रावधान छ । ती सबै प्रावधानलाई मिच्दै एनएसएल च्याम्पियनलाई उपस्थित गराउने घोषणा आयोजक कमिटीले गर्नुका साथै एन्फाबाट प्राप्त ग्रिन सिग्नलका कारण यो विषय विवादमा परेको थियो ।
अहिले यो निर्णय गर्ने क्रममा एन्फाले सरोकारवाला क्लबसँग सल्लाह गरेको छैन भने कार्य समितिको बैठक बिना नै यो निर्णय भएको हो ।
यत्ति मात्र होइन एन्फा र एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट(एनएसइएम) बिच बिना मितिको सम्झौता पत्र तयार भएको थियो । सबै भन्दा आश्चर्य त सम्झौता अवधि ४ वर्ष तोकिए पनि सम्झौता पत्रमा मिति भने छैन ।
त्यस पत्रमा एन्फाको तर्फबाट अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट(एनएसइएम)का तर्फबाट निर्वाण चौधरीले हस्ताक्षर गरेका छन् ।
एनएसइएमको तर्फबाट सात वटै प्रदेशमा होम एन्ड अबे अवधारणामा एनएसएल आयोजना गर्ने अवधारणा अगाडी ल्याइएको छ । एनएसएलको नाफा रकमबाट केही प्रतिशत एन्फालाई बुझाउने सम्झौता गरिएको थियो । कत्ति प्रतिशत रकम बुझाउने भन्ने यकिन गरिएको छैन ।
अहिले एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न २५ भदौ देखि ५ कार्तिकसम्मको मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका सर्तहरू पालना गरेर २५ भदौ देखि ५ कार्तिकसम्म लिग गर्न भनिएको छ ।
साथै प्रतियोगिता सञ्चालन गर्नु पूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरू स्वीकृति गराउन पनि भनिएको छ ।
सुपर लिगबारे विगत देखि नै आयोजक एनएसइएम र एन्फाबीच विवाद हुँदै आएको थियो । विवादकै कारण गत चैतमै हुने भनिएको टाइसिट ड्र स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्