भीम रावलको माग : एसपीपी प्रकरणमा छानविन समिति बनाऔं



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा.भीम रावलले एसपीपी प्रकरणबारे छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन्।

शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा पुर्व रक्षामन्त्री समेत रहेका रावलले परराष्ट्र मन्त्री डा.नारायण खड्काले एसपीपी सम्झौतालाई कोट्याउँदा सबै कुरा छताछुल्ल हुन्छ भन्नु गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् ।

एसपीपी प्रकरणबारे छानबिन समिति बनाऔं, यो प्रक्रियामा भएका सम्पूर्ण कागजात जम्मा गरेर अध्ययन गरेर को दोषी छ पत्ता लगाउन आग्रह गर्दछु’, रावलको माग छ ।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणको एजेन्डा के हो परराष्ट्रमन्त्रीले किन खुलाउनुभएन भन्दै प्रश्न समेत गरेका छन् । ‘परराष्ट्रमन्त्रीले अमेरिकी मन्त्रीले तिब्बती शरणार्थीको क्याम्प भ्रमणलाई राष्ट्रिय हितको बिषय भएको बताउनुभएको छ त्यो कुरा म यो समितिमा उपलब्ध गराउन सक्छु’, रावलले ‘यस्तो परराष्ट्रमन्त्री भएपछि नेपालको परराष्ट्रनीति कसरी कार्यान्वयन हुनसक्छ रु’ भनेर सरकारलाई प्रश्न गरे ।

उनले नेपाली सेनाले अमेरिकालाई पत्र लेखेकोबारे प्रष्ट पारेकोमा धन्यवाद दिँदै भने, ‘तर एक दिनअघि पत्र लेखेको छैन भनेर स्पष्टीकरण दिने अनि अर्को दिन पत्र सार्वजनिक भएपछि स्वीकार गर्ने रु यसले सेनाको छविलाई कस्तो असर पार्छ । यसबारे बिचार गर्न आवश्यक छ ।’

नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताएका छन्। ‘मौन बस्नुको अर्थ के हो रु’, रावलको प्रश्न छ ।

समितिको आजको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी प्रकरणको च्याप्टर क्लोज भयो, अब नखोतलौँ भनेका थिए।

प्रतिक्रिया दिनुहोस्