भोर्लेटारको लालीगुराँस सहकारीबाट ५ लाख ९३ हजार चोरी



लमजुङ । मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो।

रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार सहकारीसँगै १ फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ। प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन्सीबाट ७० हजार र सिताराम रानाभाटले सञ्चालन गरेको किराना पसलबाट ११ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ।

असार १ गते बुधबार राति अन्दाजी १२ बजेको समयमा अज्ञात व्यक्तिबाट कार्यालयको ताला फोडी नगद र चेक चोरी भएको प्रहरीले जनाएको छ। चोरीको घटनालाई लिएर प्रहरीमा आएको निवेदनको आधारमा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ। अन्य केही व्यक्तिको घरमा समेत चोरी भएको भन्ने सुन्नमा आए पनि जिल्ला बाहिर रहेकाले निवेदन भने प्राप्त नभएको प्रहरीले जनाएको छ।

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलाल श्रेष्ठले घटनाको यथाशीघ्र छानबिन एवं अनुसन्धान गरी दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्