आईजीपी बढुवा विवाद मुद्दामा आज सुनुवाइ हुँदै



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज (आइतबार) सुनुवाइ हुने भएको छ। सरकारले सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेल सर्वोच्चमा पुगेका हुन्।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्। गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको हो।

कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ। बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने संभावना कम छ। सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि एआईजी पोखरेल कार्यालयमा हाजिर भएका छैनन्। २४ गते नै उनको बिदा सकिएको हो। वैशाख १९ देखि बिदामा थिए। बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन्।

यस्तै एआईजी बढुवा विरुद्ध पूर्व डीआईजी ईश्वरबावु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले दायर गरेको रिटपनि आईजीपी विरुद्धको रिटसँगै लगाउमा राखेर सुनुवाइ भइरहेको छ । जेठ १७ मा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको बेच्नले एआईजी बढुवा विरुद्धको रिटका प्रत्यासी धीरज प्रताप सिंह, रविन्द्र बहादुर धानुक र बसन्त पन्तको म्याद तामेल गरेर जेठ ३० मा सुनुवाइका लागी पेश गर्न आदेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्