तेलमा सधैँ झेल : निगम बढाइरहने, सरकार रमाइरहने !



काठमाडौं । नेपाल आयाल निगम पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा सक्रियता बढाइरहेको छ । निगमले गत २६ जेठमा मात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो। निगमले गत २६ जेठमा पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेल र मट्टीतेलमा १२ रुपैयाँ बढाएको थियो।

पेट्रोलिय पदार्थको मूल्य बढाइको १२ दिनमै फेरि निगमले इन्डियन आयल कर्पाेसनसँग पेट्रोलियम पदार्थको कारोबार गर्दा भएको घाटा बेहोर्न नसक्ने अवस्था आएको भन्दै निगमले एक्कै पटक प्रतिलिटर पेट्रोलमा २१ र डिजेल र मट्टीतेलमा २७ रुपैयाँ बढायो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको र निगमको घाटा उच्च भएको भन्दै ८ जेठमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । सरकारको दबाबमा १९ जेठमा निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको थियो। घाटा थेग्न नसक्ने अवस्था आएको भन्दै सरकारसँग पटकपटक कर कम गर्न माग गर्दै आएको थियो।

निगमले पेट्रोलियम पदार्थमा कर धेरै भएर उपभोक्तालाई र निगमलाई अघि बढाउन समस्या आएको भन्दै २ पटकसम्म उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्र काट्दै इन्धनमा प्रतिलिटर १५ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २०० रुपैयाँसम्म कर कम गर्ने काम गरेको थियो। निगमले कर कम गर्न भन्दै चैत र वैशाखमा अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेको थियो।

त्यसबेला सरकारले निगमलाई आगामी आर्थिक वर्षको बजेटमार्फत पेट्रोलियम पदार्थबाट लिने पूर्वाधार कर १० रुपैयाँ कम गर्ने आश्वासन दियो । सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर उठाएको र अन्तर्राष्ट्रिय बजारमा इन्धनको निरन्तर बढ्दो मूल्यका कारण निगमको घाटा उच्च हुँदा थेग्न नसक्ने भएपछि निगमले सरकारलाई पूर्वाधार कर घटाउन मागसमेत गरेको थियो।

अत्यधिक वृद्धि भएको मूल्य कम गर्न सरकारले पेट्रोलियम पदार्थबाट लिइँदै आएको पूर्वाधार कर घटाउने निर्णयसमेत गरेको थियो। १३ जेठमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले सर्वसाधारणलाई पर्ने गएको असरलाई ध्यानमा राख्दै सरकारले लिने पेट्रोलियम पदार्थको करका दर समायोजन गरी मूल्य घटाउने निर्णय गरेको थियो।

तर, सरकारले गरेको निर्णयलाई कार्यान्वयन भने गरेन । सरकारले भन्सार कर भने कम गरेन तर चालू आवसम्मका लागि पूर्वाधारबाट उठेको करको पैसाबापत १० रुपैयाँ निगमलाई फिर्ता दिने २ साताअघि अर्थ मन्त्रायले निर्णय गर्‍यो । बक्यौता बुझाउन पनि नसक्ने अवस्था भएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न बाध्य भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । निर्देशक थानीले पछिल्लो मूल्य समायोजन हुँदै गर्दा पनि निगमले महिना दिनमा ४ अर्ब ७० करोड रुपैयाँ घाटा बेहोर्नुपर्ने बताए।

पूर्वाधार कर चालू आर्थिक वर्षलाई मात्र घटाउन अर्थ मन्त्रालयको निर्देशन आएको उनले बताए। थानीले पूर्वाधार कर घटाउने निर्णय पूर्ण रूपमा लागू भइरहेको जानकारी पनि दिए । पूर्वाधार कर हटाउनका लागि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको अन्तिमसम्मका लागि मात्र पत्र आएको उनले सुनाए । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गणेश पाण्डेले पेट्रोलियम पदार्थको मूल्य बढाउन आफैँलाई असहज हुँदाहुँदै पनि बाध्य भएर बढाउनुपरेको बताए । उनले इन्डियन आयल कर्पोरेसनलाई बक्यौता बुझाउनसमेत समस्या आएको हुँदा मूल्य बढाउन बाध्य भएको जनाए।

वाणिज्य सचिव पाण्डेले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन बाध्य भएर मूल्य बढाएको बताए। सचिव पाण्डेले पेट्रोलिय पदार्थको मूल्य बढे पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढ्ने जानकारी दिए।सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वृद्धि गरेको भन्दै कारणसहित स्पष्टीकरण दिन ध्यान आकर्षण गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताएका छन्। मन्त्री बडूले सोमबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिए।

विद्यार्थी सङ्गठन छलफलमै व्यस्त विगतका विद्यार्थी सङ्गठनका नेताहरू नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा निगम अगाडि धर्ना दिनेदेखि सडकमा टायर बाल्ने कामसमेत गर्थे । आइतबार निगमले पेट्रोलमा एकै पटक प्रतिलिटर २१ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २७ रुपैयाँ बढाउँदा पनि चुपचाप बसेका छन् ।

युवा सङ्गठनका उपमहासचिव सन्जीव राईले आफूहरूले महँगीको विरोधमा आज आन्दोलन गर्ने बताए । आइतबार सरकारले वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध सबैसँग छलफल गरी गरिने भएको उनले बताए । गठबन्धको सरकार भए पनि महँगीको विरोधमा आन्दोलन गर्ने राईले बताए ।

ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने
सरकारले खाना पकाउने ग्यासमा छिट्टै दोहोरो मूल्य कार्यान्वयनमा ल्याउने बताएको छ। आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा आपूर्ति सचिव गणेश पाण्डेले अब छिट्टै ग्यासको दोहोरो मूल्यलाई कार्यान्वयनमा लैजाने जानकारी दिए।

उनले औद्योगिक प्रयोजन, होटल र घरायसी प्रयोजनको मूल्य फरक हुने बताए। घरायसी प्रयोजनका लागि सहुलियत दिने जानकारी उनले दिए। उनले दोहोरो मूल्यबारे अध्ययन गर्न गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको टोलीले काम गरिरहेको पनि बताए। निर्देशक थानीले औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको ग्यास सिलिन्डर चिन्न सिलिन्डरको आकार, ग्यासको गन्ध र सिलिन्डरको रङ पनि फरक बनाउने बताएका छन्।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७५४ रुपैयाँ घाटा छ । १५ दिनमा २ अर्ब ३५ करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्