रेनु दाहालको बाचा : ‘मेयर होस् त यस्तो होस्’ भन्ने गरी काम गर्छु’



चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन .

बुधवार भरतपुर ७ मध्यविन्दु टोलमा रहेको प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्तो बताएका हुन् । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएको उनले बताएका छन ।

‘सबै पक्षले मलाई अत्यधिक मत दिनुभएको छ’, उनले भनिन्,‘यसका लागि म ऋणी छु । यो मेरो अन्तिम कार्यकाल हो । मैले चाहेर पनि फेरि मेयर हुन पाउँदिनँ । समय पनि धेरै छ । काम पनि धेरै गर्ने छु । सकेको राम्रो गर्छु ।’

विकासका लागि महत्त्वकाङ्क्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको मेयर दाहालले स्मरण गरेका छन ।

‘विकासका लागि महत्त्वाकाङ्क्षी हुनुपर्छ’, उनले भने, ‘महत्त्वकाङ्क्षी नभएर पनि हुँदैन । हुटहुटी हुनुपर्छ, सक्रिय हुनुपर्छ । चुप लागेर माथिबाट आएको बजेटको भर परे भए यति विकास हुने थिएन । स्रोतको सुनिश्चिता नहुँदा नहुँदा पनि धेरै काम अगाडि बढाएका थियौँ ।’

मेयर दाहालले दोस्रो कार्यकालका लागि चुनावको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भइ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गरेका छन ।

त्यो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको वृहत् विकाससम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मेयर दाहालको प्रशंसा गरेका थिए । उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रतिको हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्