आहा ! दारी भाइको मट्का चिया



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत । सुर्खेतको महŒवपूर्ण पर्यटकीय क्षेत्र हो– काँक्रेबिहार । काँक्रेबिहार जाने बाटोमै पर्छ दाह्री भाइको चिया पसल । राजधानीमा बस्ने धेरैजसोलाई याद छ– ‘दाह्री भाइको चिया पसल ।’ धेरैको मुखमा झुन्डिएको छ यो नाम ।

नाम जस्तै स्पष्ट छ, दाह्री भाइको चिया पसलको विशेषता । सजिलो गरी भन्दा उनी चिया बेच्छन् । सरल चिया । उनीकहाँ चिया पिउनकै लागि सामान्य नागरिकदेखि नेतासम्म दाह्री भाइको चिया पसलमा पुग्छन् । उनै १ कप चिया बेच्ने यात्रा थालेका दाह्री भाइको नाम होे– सुरज क्षेत्री । भाइ भन्नेबित्तिकै उमेरको कुरा आउँछ । उनी २४ वर्षका भए । उनले २० वर्षकै उमेरमा चिया पसल खोलेको बताउँछन् । गहुँगोरो गोलो अनुहारमा कालो दाह्री भएका कारण उनी दाह्रीवाला बने ।

एक समय विश्वकै चर्चित सेलिब्रेटी लियोनल मेस्सी, विराट कोहली, म्याक्सवेल, नेयमार, करिम बेन्जेमा जस्ता खेलाडीलाई दाह्रीवाला भनिन्थ्यो । अनि, दाह्री भएका युवाहरूले जिस्क्याउनैका लागि ‘दाह्री ग्याङ’ बनाएका थिए । अनुहारमा दाह्री पाल्न रुचाउने भएपछि सुरज पनि त्यसैमा मिसिएका हुन् । उनको त्यही दाह्रीले आज युवाहरूको रोजाइको व्यापारी बनाएको छ । त्यही नामको चिया पसलबाट आज उनी व्यवसायी बनेका छन् ।

उनले सानैदेखि बोर्डिङ स्कुल पढे । सुर्खेतमा बोर्डिङ स्कुल पढ्दा पैसा तिर्न फलामकै चिउरा चपाउनु सरह थियो । उनलाई पढाउन आमाबुबालाई दुःख भयो । त्यो उनले राम्ररी महसुस गरेका थिए । जेनतेन एसएलसी पास गरे । के पढ्ने ? धेरैथोक मनमा आयो । जतिबेला उनका आमाबुबाले घरै अगाडि घुम्ती पसल राखेका थिए ।

घुम्ती पसलमा चाउचाउ, चुरोट, बिस्कुट थिए । आम्दानी खासै थिएन । तर, जेनतेन घरमै बसेका बेला आमाबुबालाई व्यस्त बनाउँथ्यो । एसईई पास गरेपछि सुरजलाई के गरौँ के गरौँ ? लाग्यो । सोच्दासोच्दै उनलाई चिया बेचौँ भन्ने लाग्यो । त्यसपछि उनले घरमै रहेको ग्यास अगाडि राखेर चिया बनाउन थाले । साथ दिने आमाबुबा छँदै थिए । दाजु–भाउजू पनि थपिए । थोरै प्लास्टिकका कुर्सी थपे । प्लास्टिककै टेबल पनि राखे । ४–५ जना अट्न मिल्ने ठाउँ बनाए । काँक्रेबिहार जाने बाटोमै उनले घुम्ती पसलबाट चिया पसल थाले ।

सुरुमा दिनमा १५ देखि २० वा २५ कपसम्म चिया बिक्री हुन थाल्यो । चिया खानेले चुरोट पनि पिउन थाले । घुम्ती पसलभन्दा चिया पसलबाट कारोबार बढ्यो । आम्दानी पनि बढ्ने भयो नै । सुरुमा दिनमा ४००–५०० रुपैयाँको व्यापार हुन्थ्यो । चिया पसलबाट दैनिक १ हजार ५०० रुपैयाँभन्दा बढी हुन थाल्यो । सुरज फुरुङ्ग भइहाले ।

‘चिया पसल खोलेको पहिलो दिनमै ७०० रुपैयाँ कमाइ भयो । त्यतिबेला मन यति धेरै खुसी भयो’, त्यतिबेलाको उत्साह र उमङ्ग सम्झिँदै सुरजले भने, ‘हामीलाई पैसा पनि चाहिएको थियो । पहिलो दिनबाटै राम्रो कमाइ भएपछि धेरै खुसी भयौँ ।’

त्यसपछि उनको चिया पसलले रफ्तार समात्यो । दैनिक ७०० देखि १ हजार ५०० रुपैयाँ हुँदै ५ हजार रुपैयाँको हाराहारीमा कमाइ हुन थाल्यो । अहिले उनको दैनिक कारोबार उकालो लाग्दो छ ।

चियाबाट मट्का चिया

पछिल्लो २ वर्षदेखि उनी मट्का चिया पनि बेच्छन् । मट्का काठमाडौंमा चर्चित बनेको ब्राण्ड हो । भक्तपुरका एक जना साथीबाट उनले मट्कालाई सुर्खेतमा भित्र्याएका हुन् । पछिल्लो समय उनले मट्का चियाका लागि नेपालगंजबाट माटोको कप ल्याउने गरेका छन । सुरुमा उनले बाइकमा माटोको कप ल्याउने गरेका थिए, जतिबेला उनले साह्रै सङ्घर्ष गर्नुप¥यो ।

तर, अहिले सजिलै नेपालगंजबाटै ढुवानी भएर उनीकहाँ आइपुग्छ । त्यति गाह्रो छैन । मट्का चिया स्वादिलो पनि छ । महँगो पनि छ । त्यसभन्दा महत्वपूर्ण कुरा मट्का चियाको स्वाद बेग्लै छ ।

त्यही स्वादमा युवाहरू झुम्मिएका छन् । यसैले दाह्री भाइ चियापसलवाला सुरजको व्यापार पनि फस्टाउँदो छ । चियाबाट मट्का चियाको ब्राण्ड बेचिरहेका उनी स्पेसल चियाका साथै बदाम राखिएको पिनट चिया पनि बेच्ने गरेका छन् ।
त्यसबाहेक लस्सीलगायतका खानेकुराका परिकार उनले थप्दै गएका छन् । यसले उनको व्यापारको ग्राफ झन् उकालो लाग्ने देखिन्छ ।

चिया पिउँदै देश बनाउने

उनको चिया पसलले चर्चा कमाउनुका पछाडि पसलमै बोर्ड टाँसेर लेखेका छन्, ‘देश बनाउँदै चिया खाने कि चिया खाँदै देश बनाउने ?’ यो ‘स्लोगन’ले युवाहरूको ध्यान तान्छ ।

गफले देश बन्दैन । उनको ध्येय त्यही छ । त्यसैले चिया खाऔँ अनि देश बनाउने कुरा पनि गरौँ । बनाउन नसके पनि देश बनाउने कुरा गर्न सकिन्छ ।
प्रयासलाई सही थाप्न सकिन्छ । समर्थन गर्न सकिन्छ । वीरेन्द्रनगरको मुटु मङ्गलगढी चोकबाट काँक्रेबिहार जाँदा गेट नजिकै दाह्री भाइको चिया पसल पुगेपछि देश बनाउने थुप्रै कुरा सुन्न पाइन्छ । मट्का चियाको स्वादसँगै घरदेखि बजार र काठमाडौंसम्मका चर्चा स्वाभाविक रूपमा चल्छन् ।

एकान्त । शान्त । विशेष अनि सररर हावा लाग्ने भएकाले पनि उनको चिया पसल युवाहरूको गफ चुट्ने थलो बनेको छ । चियासँगै देश बनाउने, भत्काउने र बिगार्नेको चर्चा स्वाभाविक चलिहाल्छ । सुर्खेतमा रन्थनिएका धेरै युवा उनको चिया पसल पुग्छन् ।

उनी चियाले उनीहरूको आवेग शान्त पार्ने प्रयास गर्छन् । खासगरी विदेश जाने युवाका लागि उनी प्रेरणादायी युवा हुन् । २० वर्षकै उमेरमा उनले थालेको चिया पसलले अहिले मासिक डेढ लाख रुपैयाँको कारोबार गर्छ । यो ग्राफ अझै उकालो लाग्दो छ । दैनिक ५ हजार रुपैयाँको हिसाब गर्दा मात्र पनि यो आँकडा निस्कन्छ । उनका आगामी योजनाले मूर्त रूप पाएमा यो ग्राफले झन् फड्को मार्छ ।

कोरिया, जापान, अस्ट्रेलिया जाने सपना पालेका युवाका लागि उनी गाउँघरमै राम्रो व्यवसाय गर्न सकिन्छ भन्ने भरपर्दा उदाहरण हुन् । उसो त उनी आफैँ पनि विदेश जानै पर्ने दबाबलाई झेलेरै चिया पसल खोलेर राम्रो आम्दानी गरिरहेका युवा हुन् ।

‘एक पटक विदेश जानै पर्छ भन्ने ठूलो दबाब थियो । तर, त्यो दबाब झेलेरै चिया पसल खोलेर काम थालेको हुँ’, उनले सारमा भने, ‘तर, लाखौँ रुपैयाँ खर्चेर विदेश जानुभन्दा यहीँ राम्रो गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छौँ । यही ठूलो कुरा हो । त्यही भएर म त भन्छु, विदेश जानुपर्दैन, देशमै केही गरौँ ।’

प्रतिक्रिया दिनुहोस्